काठमाडौँ । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् ।
कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्दै उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए । संयुक्त कम्पनीमार्फत ठूला आयोजनाहरुमा काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनका लागि ल्याण्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको समेत उनले बताए । ७५३ वटै स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरुले पनि शहर बनाउने गुरुयोजना बनाउनुपर्ने उनको भनाइ छ ।
‘ल्याण्ड पुलिङ सरकारले निजी क्षेत्रको लागि ढोका खोल्नुपर्छ । सरकारले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग पोलिसी लागू भइसकेको छ । उहाँहरुले आवासीय क्षेत्रहरुको वर्गिकरण गर्छ । त्यसको स्थानीय सरकारले गुरुयोजना बनायोस्,’ उनले भने, ‘गुरुयोजनामा विल्डिङ गर्नुपर्यो । टाउनप्लानिङ बनाउनुपर्छ । खुद्रे आयोजनाहरु होइन ।’
अब साना व्यवसायीहरु मिलेर कम्पनी बनाउने र कम्पनीहरु पनि मर्ज भएर ठूलो पुँजी भएका कम्पनी बनाउन आवश्यक रहेको उनले बताए ।
‘घरजग्गा व्यवसायीले साना योजना गर्नुको सट्टा धेरै जना मिलेर कम्पनी बनाउने र साना कम्पनीहरु मर्ज भएर ठूला पुँजी भएका कम्पनीहरु बनाउनु पर्छ । विश्वमा रियल स्टेट व्यवसायीहरु भनेका धनाढ्यहरुले मात्रै बन्ने परिस्थिति बन्छ । तर नेपालमा त्यति ठूलो पुँजी छैन । नेपाली व्यवसायीहरुले छरिएको पुँजीबाट व्यक्तिगत कारोबार गर्ने होइन । संयुक्त कम्पनीको रुपमा काम गर्नु आवश्यक छ । त्यसको लागि व्यवसायीहरु पनि लाग्नुपर्छ र व्यवस्थित शहर बनाउनुपर्छ । त्यसको लागि सरकारले ल्याण्ड पुलिङ खुला गर्नुपर्छ । त्यसको लागि शहरी ऐन बनाउन आवश्यक रहेको छ,’ लोहनीले भने ।