पोखरा । पोखराको फेवाताल दृष्यावलोकनका लागि मात्र प्रख्यात नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताका लागि पनि प्रख्यात छ । तर, तालको पानीको शुद्धता र पौडी खेल्न उपयुक्त छ, छैन भन्ने प्रश्न उठीरहेको हुन्छ ।
यसै कुरालाई मध्यनजर गर्दै पौडी प्रतियोगिता नै आयोजना गरि फेवामा पौडी खेल्न उपयुक्त छ भन्ने सन्देश दिन खोजिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता हुने ठाउँ हो पोखराको फेवाताल । १३ औं साग, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जस्ता ठुला खेल अन्तरगत ट्रायथलनमा पर्ने पौडी विधा फेवातालमै सम्पन्न भैसकेको छ ।
फेवातालमा ठुलासाना प्रतियोगिता भइरहे पनि तालको पानीको शुद्धतामा भने प्रश्न उठीरहने गर्दछ । यहि कुरालाई चिरफार गर्न र फेवातालको पानी नुहाउँन वा पौडी खेल्न उपयुक्त छ भन्ने सन्देश दिन शनिबार खुल्ला पौडी प्रतियोगिता आयोजना गरियो ।
पौडी संघ गण्डकीको आयोजनामा भएको ५०० मिटर खुला पौडी प्रतियोगितामा नेपाली र विदेशी गरि ३७ प्रतियोगिले सहभागिता जनाए ।
फेवातालको पानीको शुद्धतामा देखिएको नकरात्मक सोचलाई हटाउन र तालमा नुहाउन हुन्न, पौडी खेल्न हुन्न भन्ने धारणालाई हटाउन प्रतियोगिताको आयोजना गरिएको पौडी संघ गण्डकीका सचिव अनिल थापा बनाउँछन् ।
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म गर्न सकिने यस फेवातालको पानीको विषयमा भने सम्वन्धित निकाय मौन देखिन्छ ।
तालको पानी प्रदुषित बन्दै गएको र यसले पौडी खेलाडीलाई असर गरेको पौडी प्रशिक्षक आनन्द कुँवर बताउँछन् । पानीको डेन्सीटी मापन हुनुपर्ने र सम्बन्धित निकायले नियममात्र बनाउने होइन नियमको कार्यान्यवन हुन आवश्यक रहेको प्रशिक्षक कुँवर बताउँछन् ।
फेवाताल पौडी प्रतियोगिता गर्न उपयुक्त छ भन्ने सन्देश दिन शनिबार भएको ५०० मिटरको खुला पौडी प्रतियोगितामा अभय अधिकारी प्रथम, अर्जुन नेपाली दोश्रो र ऋषि पौडेल तेस्रो भएका छन् ।
त्यस्तै महिलातर्फ रुबि तामाङ प्रथम, लसता श्रेष्ठ दोस्रो र युनिसा कुँवर तेस्रो हुन सफल भइन् । यता फन फर स्वीममा भाग लिएका विदेशी पर्यटकमा फ्रान्सी डिलाही प्रथम, अस्ट्रेलियाकी चार्लोत लुइस दोस्रो र अमेरिकाका रामोन्ड माइकल तेस्रो भएका छन् ।