म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविरसम्मको पदमार्ग भन्ने वित्तीकै सबैले कास्कीको घान्द्रुक हुँदै जाने पदमार्ग सम्झिन्छन् । तर सन् १९५० मा मौरीस हर्गोजले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको पदमार्ग भने म्यादीमा पर्छ । जसको प्रचारप्रसार हुन नसक्दा यो पदमार्ग अझैपनि ओझेलमा छ ।
नेपालका हिमालहरुको उचाइ मापन हुन भन्दा पहिले कास्की र म्याग्दीको सिमानामा रहेको अन्नपूर्ण प्रथम हिमाललाई विश्वको सर्वोच्च शिखर मानिन्थ्यो ।
जसको सन् १९५० मा सफल आरोहण गरेका थिय फ्रान्सेली नागरीक मौरीस हर्गोजले । उनले २५० भरिया लिएर मुस्ताङको बाटो हुँदै म्याग्दी तर्फबाट अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । तर अन्नपूर्ण आरोहणको ७४ वर्ष हुँदा समेत म्याग्दीको अन्नपुर्णको उत्तरी आधार शिविरसम्मको पदमार्गमा भने अझै पनि प्रयाप्त पर्यटकहरु पुग्न सकेका छैनन् ।
त्यसो त यो पदमार्ग निर्माणको कार्य पनि सन् २०१२ मा बल्ल सुरु भयो । यहाँका स्थानिय सरोकारवालाहरुले पनि पछि बल्ल थाहा पाए कि अन्नपूर्णको सफल आरोहण भएको पदमार्ग त म्याग्दीमै पर्छ भनेर । आरोहणमा संसारकै अप्ठ्यारो हिमाल पाकिस्तानको केटु पछि दोश्रो स्थानमा पर्छ अन्नपूर्ण प्रथम हिमाल ।
त्यसैले अहिलेसम्म जम्मा ४२२ जनाले मात्र यसको सफल आरोहण गर्न सफल भएका छन् । तर पनि पछिल्लो समय सबैको रोजाई बनेको पदमार्गको यात्रामा म्याग्दीको उत्तरी अन्नपूर्णको पदयात्रा अलि कम रोजाईमा पर्छ ।
म्याग्दीको मुस्ताङमार्गमा पर्ने पोखरे बगरबाट २ घण्टाको जिप यात्रापछि सजिलै पुग्न सकिन्छ अन्नपूर्ण गाँउपालिका ४ मा पर्ने हुमखोला ड्याम, त्यहाँबाट गुराँसे डाँडा, फुतफुते झरना, गुफाफाँट हुँदै पहिलो दिनमै ६ घण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ, समुन्द्री सतहबाट ३६५० मिटरमा रहेको भुस्केटमेला ।
त्यहाँको एकरातको बसाईपछि एक बिहानको यात्रा पछि सजिलै पुगिन्छ अन्नपूर्ण हिमालको उत्तरी आधार शिविर । आँखै अगाडी अन्नपूर्ण, निलगीरी, तिलिचो लगायतका हिमाल र फेदमा अन्नपूर्ण हिमताल । जो कोहीलाई लाग्छ स्वर्गको परिभाषा यहि हो ।
हुन त नेपालका हरेक पदमार्ग र पुगिने गन्तव्य यस्तै रमाइला र सुन्दर छन् तर पछिल्लो समय पदमार्गमै सडक बाटो बन्नाले पदमार्ग नै हराउने अवस्थामा छन् । तर म्याग्दीको अन्नपूर्णको उत्तरी आधार शिविरको पदमार्गमा त्यस्तो कुनै अवरोध छैन । तर पनि यो पदमार्गमा प्रर्याप्त पर्यटक आउन नसक्नुको प्रमुख कारण हो यात्राका क्रममा खाना र बासको समस्या ।
पदमार्गमा होटल नहुँदा पर्यटक आफैले खाध्य सामाग्री ल्याई आफै पकाई खानु पर्ने र ओढ्ने ओछ्याउनेदेखि सबै व्यवस्था गर्नुपर्ने बाध्याता छन ।
त्यसैले पनि प्रर्याप्त पर्यटक आउन नसकेको धेरैको बुझाई छ । अब केन्द्रको मुख नताकी स्वयम गाँउपालिकाले सक्ने विकास आफै गर्दै जाने बताउँछन् अन्नपूर्ण गाँउपालिका प्रमुख भरतकुमार पुन ।