News 24 Television
धरापमा प्रदेश सरकारहरू, मुख्यमन्त्रीलाई सत्ता टिकाउनै महाभारत

काठमाडौँ । मुलुकका सात वटै प्रदेश सरकारहरु सत्ता भागवण्डाको सकसबाट कुनै न कुनै रुपमा प्रभावित छन् । सुदूरपश्चिम प्रदेशमा त झन् सत्ता पक्षीय दलनै मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन अड्को थापिरहेको छ । सुदूरपश्चिम सरकारमा देखिएको किचलोले यहाँको भावि परिदृष्य कस्तो रहला ? अनि, सातै प्रदेश सभामा सांसदको अंकगणित कस्तो छ ? साथै यस किसिमको अंकगणितले कसरी प्रभावित बनाइरहेको छ त प्रदेश सरकारहरुलाई ? 

गएको फागुन २१ गते केन्द्रमा सत्ता समिकरण बदलिएसँगै मुलुकका सातै प्रदेश सरकारहरुमा अस्थिरता छाएको छ । केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश कब्जा गर्ने होडले केन्द्रीय सत्ता पक्ष र प्रतिपक्ष सांसदको अंकगणित व्यवस्थापनदेखि अड्डा अदालत धाइरहेका छन् । कोशी प्रदेश सरकारको लफडा सर्वोच्च अदालतमा पुगेको छ । 

उता, गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत नै असंवैधानिक भन्ने जिकिरसहित मुद्दा विचाराधिन अवस्थामा छ । बागमती, मधेश, लुम्बिनी र कर्णाली प्रदेश सरकारमा पनि सबै पक्ष व्यवस्थापन भएका छैनन् । त्यसमाथि पनि अहिले जनता समाजवादी पार्टी नेपालमा फुट आएको छ । यो विषयले पनि अब विशेषगरि मधेश प्रदेश सरकारलाई प्रभावित बनाउने छ । 

अझ सुदूरपश्चिम प्रदेश सरकारको कुरा गर्दा त यहाँ सत्ता गठबन्धनकै ठुलो दल नेकपा एमाले स्वयंम मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन इच्छुक छैन । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन वैशाख २१ गते प्रदेशसभा बैठक बोलाएका थिए । तर, नेकपा एमालेले विश्वासको मत दिने निर्णय नै नगरेपछि बैठक स्थगन गर्नु पर्यो । पार्टी अध्यक्ष केपी ओलीले विश्वासको मत दिन हतार नगर्नु भनेपछि नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासको मत अहिले नै दिने मुडमा छैन एमाले सुदूरपश्चिम संसदीय दल । 

केन्द्रीय सत्ता समीकरण जोगाउनु पर्ने बाध्यात्मक अवस्था भएकाले मात्रै एकीकृत समाजवादीलाई सुदूरपश्चिम सरकारको नेतृत्व दिन राजी भएका एमाले अध्यक्ष ओली अहिले पर्ख र हेरको रणनीतिमा रहेकाले सोडारीलाई विश्वासको मतमा अड्को थापी रहेका छन् । यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले आउँदो जेठ ५ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने छ । तर, केन्द्रीय सत्ता चलखेल नै तलमाथि भएको अवस्थामा यसैको शिकारमा परि मुख्यमन्त्री सोडारीलाई पद जोगाउन मुस्किल पर्न सक्ने सम्भावना नहोला भन्न सकिन्न । 

विश्वासको मत लिने समय अझै बाँकी छ भन्दै एमालेले सोडारीलाई हतार नगर्न भने पनि केन्द्रीय सत्ता समीकरणमै फेरबदल आउन सक्ने जोखिममा ध्यानमा राखी एमालेले रणनीतिक रुपमै विश्वासको  मत तत्काल नदिने मुड देखाएको हो । कांग्रेससँग एकीकृत समाजवादी र जसपा नेपालको हिमचिम बढेपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली अहिले सम्भावित जोखिम हेरेर मात्रै कदम चालिरहेका छन् । 

कतिसम्म भने प्रचण्ड–ओलीकै ग्राण्ड डिजाइनमा नै जसपा नेपाललाई फुटाइएको विश्लेषण सतहमै छ । यो कदम र संसदीय अंकगणितको जटिल अवस्थाले पनि अन्य प्रदेशमा थप अस्थिरता मच्चिने निश्चित छ । 

कुन प्रदेशसभामा संसदीय अंकगणित कस्तो ? 

कोशी प्रदेश : सांसदको संख्या ९३
नेपाली कांग्रेस –  २९
नेकपा एमाले  – ४०
राप्रपा      –  ६
माओवादी केन्द्र – १३
नेकपा एस     – ४
जसपा नेपाल   – १

मधेस प्रदेशः सांसदको संख्या १०७
एमाले          – २३
नेपाली कांग्रेस   – २२
जसपा नेपाल – १८ (विभाजितको सनाखत हुन बाँकी)
जनमत      –  १३
माओवादी केन्द्र  –  ९
लोसपा       – ९
नेकपा एस     – ७
नागरिक उन्मुक्ति – १
नेपाल संघीय समाजवादी – १
राप्रपा          – १
स्वतन्त्र         – ३

बाग्मती प्रदेश : सांसदको संख्या १०७
नेपाली कांग्रेस   -  ३७
नेकपा एमाले  -   २७
माओवादी केन्द्र  - २१
राप्रपा      -   १३
नेकपा एस    -   ७
नेमकिपा      -   ३
हाम्रो नेपाली पार्टी २


गण्डकी प्रदेशः सांसदको संख्या ६०
नेपाली कांग्रेस    -   २७
नेकपा एमाले      -  २२
नेकपा माओवादी केन्द्र - ८
राप्रपा    -   २
नेकपा एस     - १

लुम्बिनी प्रदेशः सांसदको संख्या - ८७
नेकपा एमाले       - २९
 नेपाली कांग्रेस      -  २७
नेकपा (माओवादी केन्द्र)  - ११
राप्रपा       -  ४
नागरिक उन्मुक्ति पार्टी    -  ४
जनमत पार्टी     -   ३
जनता समाजवादी पार्टी, नेपाल- ३
लोसपा, नेपाल  - ३
राष्ट्रिय जनमोर्चा    - १
नेकपा एस         -  १
स्वतन्त्र          -  १

कर्णाली प्रदेशः सांसदको संख्या ४०
नेपाली कांग्रेस      -    १४
नेकपा (माओवादी केन्द्र)   -  १३
नेकपा (एमाले)          -   १०
राष्ट्रिय प्रजातन्त्र पार्टी      -  १
नेकपा (एकीकृत समाजवादी) -    १
स्वतन्त्र          -   १

सुदूरपश्चिम प्रदेश: सांसदको संख्या ५२
नेपाली कांग्रेस       -     १८
नेकपा (माओवादी केन्द्र)  -   ११
नेकपा (एमाले)         - १०
नागरिक उन्मुक्ति पार्टी  -  ७
नेकपा एस     - ४
राप्रपा            -  १
स्वतन्त्र         -   १

संसदको यो अंकगणित हेर्दा सरकार निर्माणका लागि बहुमत पु¥याउन एक वा दुई दल मिलेर समेत पुग्ने अवस्था देखिदैन । केन्द्रमा पनि जटिल अंकगणित अनि प्रदेशमा पनि त्यस्तै अवस्थाले अहिले सत्तामा राज गर्न अनेकौं दल मिल्नै पर्नेे र बाडिचुडी खाने होड चलिरहेको छ । प्रधानमन्त्री प्रचण्ड स्वयंम खनै आफुलाई ५ वर्ष टिकाउन जता पनि गइन्छ र जे पनि गरिन्छ भन्दै हिँडिरहेका छन् । यी सबै अस्थिरताले मुलुक राजनीतिक संक्रमणकालीन अवस्थाबाट आक्रान्त छ । जसको मुलुक विकासमा मात्रै होइन जनदैनिकीमा समेत परिरहेको छ ।  


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update