काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना प्रकरणले पुनः तरंग ल्याउने देखिएको छ । सार्वजनिक जग्गा कब्जा एवम् अपचलनका घटना एक पछि अर्को गर्दै चर्चामा आइरहेका समय बालमन्दिरको जग्गामाथिको अनुसन्धान अघि बढ्ने देखिएको हो । जग्गा हिनामिनाविरुद्ध सीआईबीमा विहीबार जाहेरी परेपछि २० जना विरुद्ध पक्राउ पूर्जी नै जारी भइसकेको छ । को–को विरुद्ध भयो पक्राउ पूर्जी जारी ? अनि के हो त बालमन्दिरको जग्गा हिनामिना प्रकरणको समग्र पक्ष ?
काठमाडौंको नक्शालमा रहेको बालमन्दिरको जग्गा हिनामिना प्रकरणले यतिबेला तरंग ल्याएको छ । जग्गा ठगी तथा हिनामिना गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा विहीबार जाहेरी प¥यो । नेपाल बाल संगठनले जाहेरी दिएपश्चात बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी नै जारी भइसकेको छ । पक्राउ पूर्जी करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध जारी भएको हो ।
जाहेरीमा तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको आरोप छ । यो जाहेरी ठगी सम्बन्धि कसुरमा दिइएको छ ।
को–को विरुद्ध भयो पक्राउ पूर्जी जारी ?
– नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह
– नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ
– नेपाल बाल संगठनका तत्कालिन महासचिव गणेश भक्त श्रेष्ठ
– नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य
– नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान
– नेपाल बाल संगठनका तत्कालिन महासचिव रामकाजी कोने
– नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्रबहादुर शाही
– नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ
– नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह
– नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले
– नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल
– नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि. (वृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक किर्तिप्रसाद पाण्डे
कसरी र कहिले भयो बालमन्दिरको जग्गा हिनामिना ?
– २०४९ सालबाट बालमन्दिरको जग्गा भाडामा लगाउने नाममा हिनामिनाको क्रम शुरु
– नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा वृहस्पति विद्यासदनलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी २०७२ सालमा सम्झौता भएको थियो ।
– जग्गा हिनामिनाको विषय बाहिरिएपछि गत साता नेपाल बाल संगठनले आन्तरिक छानविन ग¥यो
– आन्तरिक छानविन र विगतका अध्ययन प्रतिवेदनका आधरमा वृहस्पति विद्या सदनसँग वि.सं २१३१ सम्म लिजमा दिनेगरी भएको सम्झौता समेत रद्द गरिसकिएको छ ।
– २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा रीता सिंह वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गामा वृहस्पतिले रजगज
– पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले वृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिइन् ।
– वृहस्पतिलाई जग्गा लिजमा दिएवापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता
– वृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय वोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुली धन्दा चल्यो
– २०४८ को आम निर्वाचनपछि बनेको सरकारद्धारा रीता सिंह वैद्यलाई संगठनको अध्यक्ष नियुक्ति
– वैद्य नेपाल बाल संगठनमा सामेल भएसँगै वृहस्पति विद्या सदन पनि बाल मन्दिरमा भित्रिएको थियो ।
बालमन्दिरको विगत
२०२१ मंसिर १७ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले तत्कालीन राणा परिवार अर्थात अहिले बाल मन्दिरको रहेको क्षेत्रको १ सय १९ रोपनी भन्दा बढी जग्गा अधिग्रहण गरी सरकारको नाममा ल्याएको थियो । त्यसपछि अनाथ तथा असहाय बालबालिकाको रेखेदेख एवं संरक्षणका लागि भन्दै बालमन्दिर स्थापना गरिएको थियो ।
यसरी स्थापित बालमन्दिरले नै जग्गा बालमन्दिर क्षेत्रको १ सय १९ रोपनी भन्दा बढी जग्गा भोगचलन गर्दै आएको थियो । तर, २०४९ सालबाट जग्गा भाडामा लगाउने नाममा नेपाल बाल संगठनको नेतृत्वसहितको मिलेमतोमा हिनामिनाको क्रम सुरु भएको देखिन्छ ।