कुरा आजभन्दा करिब १२ वर्षअगाडिको हो । वि.स. २०६७/६८ सालतिरको कुरा । मेरो दैनिकी उहीँ थियो । काठमाडौँको भागदौड अनि व्यस्त समय ।
मेरो शिशापसल थियो, कालोपुलमा । बिहानदेखि रातिसम्म सोही कर्ममा व्यस्त हुन्थेँ । त्यसदिन पनि नियमित दैनिकीमा लागिसकेको थिएँ म । बिहानै पसलमा पुगेँ । ९ बज्दानबज्दै हेटौंडास्थित मेरो घरबाट फोन आयो । फोनमा अलिक अत्तिएको स्वर थियो– ‘छिटो घर आऊ, आमाको अवस्था ठिक छैन ।’
सुन्नेबित्तिकै मन झसङ्ग भयो । त्यो फोनकलको आशय थियो– आमा अब रहनुभएन... ।
मैले थप केही सोच्नै सकिनँ । कसैलाई भन्दा पनि भनिनँ । चुपचाप पसलको सटर तानेँ । ताला लगाएँ । त्यतैबाट बाट हेटौँडा जान भनी हिँडेँ । मेरो सारथी थियो, मोटरसाइकल । दक्षिणकाली–कुलेखानी हुँदै लागेँ हेटौँडातिर ।
काठमाडौँदेखि हेटौँडा पुग्न ४ घण्टा लाग्थ्यो । बाटोमा अनेकन् कुरा मनभरि खेलिरहे, बयेलीझैँ । म यति एकोहोरो भएछु कि ३ घण्टामै हेटौँडा पुगेँ । घरको आँगनमा छर–छिमेकीहरू सबै भेला भैसकेको देखेँ । कसैले ‘ल, छोरा आइपुगे’ भनेको मेरो कानमा पर्यो । मैले कसैलाई नहेरी सीधै माथि आमाको कोठामा गएँ । त्यहाँको माहोल मैले सोचेको भन्दा भिन्दै देखेँ ।
पुरेत बाजे कुस लिएर तयारी अवस्थामा हुनुहुन्थ्यो । अनि ठूलीआमा, उहाँका छोरा, हाम्रा ठूलदाइ÷दिदी र अरू आफन्तजन त्यही हुनुहुन्थ्यो । मेरा जेठा दाइ, माइली भाउजू, दिदीहरू आमालाई लास बनाएर तामाको करुवाले पानी खुवाउँदै रुँदै हुनुहुन्थ्यो ।
पुरेत बाजे बोल्नुभो, ‘ल अब अलमल नगरौँ । कान्छा पनि आइपुगेछ । गौदान सकिसक्यो । अब पानी खुवाऊ अनि तल लैजाऊ ।’
म एकोहोरिरहेको थिएँ । अचानक ‘आमा... !’ भन्दै चिच्याउँदै अगाडि गएँ । आमाको आँखा चलेको भान भयो मलाई । सबैले पानी पिलाइसकेको रहेछ । अब पानी पिलाउने पालो मेरो आयो । लाग्यो, चितामा लान र दागबत्ती दिने कान्छो छोरालाई नै कुरेर बस्नुभाको रहेछ आमा ।
अहँ, मैले पानी खुवाइनँ । मेरो मनले मानेन । हात अघि सर्नै मानेनन्, पानी खुवान । बरु आमासँगै बसेर नाडी छाम्नतिर मेरा हात अघि सरे । नाडी छाम्दै आमाको आँखामा हेरेँ । आमाले केही इशारा गरेको भान भयो । दिदी, भाउजूहरू रोइरहेकै थिए ।
ठुल्दाइलाई सोधेँ, ‘हस्पिटल किन नलग्नुभाको दाइ ?’
जवाफ आयो, ‘हिजो मात्र लगेर ल्याको ।’
दाइको जवाफ अचम्मलाग्दो थियो । मानौँ, दिनकै दिन हस्पिटल लग्न मिल्दैन । हस्पिटल र घरको दुरी मात्र १ कि.मि. थियो । अनि यातायातको असहजता पनि थिएन ।
मेरो मनले पटक्कै मानेन कि आमा बितिसक्नुभयो । उहाँ हामी सबलाई छाडेर परलोक जाँदै हुनुहुन्छ भन्ने कुरा पत्यारै लागेन । सबै मलामी जाने तयारीमा जुट्दै थिए । कोही भने मेरा अन्य २ जना दाइहरू काठमाडौँबाट आउने प्रतीक्षामा थिए । म भने आमालाई हस्पिटल लाने तयारीमा जुटेँ ।
अब मैले आमालाई हस्पिटल लग्छु भन्दा सबैजना छक्क परे । मलामी जान ठिक्क परेको त्यत्रो जमातमा एकल हठ गर्नु साह्रै गाह्रो थियो । तर पनि म सुरिएँ । कसैले भन्दै थिए– केही फाइदा छैन अब हस्पिटल लगेर, सब नाटक हो । आखिर आमा मेरी थिइन् भने उहाँको सासको आश मलाई नै हुनु स्वाभाविकै हो ।
रिक्सा मगाएँ । लगेँ हस्पिटल । हस्पिटलमा नर्सले सोधपुछ गरिन् । अनि स्लाइन मगाएर नसामा चढाइन् । नसाले पानी तान्यो । मेरो आश आमाको सास मा परिणत भएको भान भयो ।
डाक्टर आउनुभो । डाक्टरले हेरेपछि मलाई बोलाउँदै भन्नुभो– ‘सुगरको बिमारी रहेछ उहाँलाई । आईसीयूमा राख्नुपर्छ । तर हेटौँडामा त्यो सुविधा छैन । अन्य हस्पिटल लानुस् ।’ डाक्टरको यति सल्लाहपछि मैले आमालाई काठमाडौँ लाने निर्णय गरेँ ।
काठमाडौँ लान एम्बुलेन्स चाहियो । बेलुकाको साढे ४ बजिसकेको थियो । जेष्ठको महिना भएकोले ७–८ बजेसम्म त खासै रात पर्दैनथ्यो । एम्बुलेन्सको ड्राइभर आयो र सोध्यो– ‘भरतपुर लाने हो ?’
मैले भनेँ, ‘होइन, काठमाडौँ लाने हो ।’
उसले जवाफ दियो– ‘भरतपुर लाने भए जाने, काठमाडौं त नजाने ।’ म छक्क परे एम्बुलेन्स ड्राइभरका कुरा सुनेर । यिनीहरुले त हामीले भनेको हस्पिटल पो जानुपर्ने हो नि, तर किन यस्तो ? धेरै सम्झायौँ, मान्दै मानेन । ड्राइभरका कुरा बुझ्दा थाहा भयो– भरतपुरका हस्पिटलहरूले बिरामी लगेबापत केही रकम कमिसन दिने रहेछन् ।
मलाई तनाव भइसकेको थियो । उता आमालाई आईसीयूमा राख्नुको हतार छ, एता एम्बुलेन्स जान मान्दैन । प्रशासनलाई भन्दा ड्राइभरलाई भन्नुस् भन्छ । ड्राइभरको पारा यस्तो छ । मैले दिमाग लगाएँ । ड्राइभर र प्रशासन सँगै थिए । ‘लौ नेपालमा आन्दोलन नै समाधान हो ? अब ६ लिटर पेट्रोल लिएर एम्बुलेन्स नै जलाइदिन्छु !’ मेरो आक्रोश पोखियो ।
उता उनीहरुले के–के खासखुस गरे कुन्नि । एकैछिनमा जवाफ आयो– ‘ल तपाईहरू तयारी गर्नुस् ।’ काठमाडौँ नै जान एम्बुलेन्स तयार भयो । बुवा र म थियौँ हस्पिटलमा । बिचरा बुवा पनि कमजोर हुनुहुन्थ्यो । काठमाडौं लगेर उपचार हुने आशामा उहाँ पनि खुसी हुनुभो र मेरो साथमा जान तयार हुनुभो ।
घरकै बाटो भएर काठमाडौँ जानु थियो । घरमा खबर गरेर अलिअलि लुगा कपडा तयार गर्न भनेँ । घरअघि एम्बुलेन्स रोकियो । अघिको जमातबाट काही बोल्दै थिए– सक्किसकेको मान्छेलाई काठमाडौं लगेर बाँच्ने हो र ? मैले सुनेकोनसुन्यै गरेँ । त्यतिबेला मसँग वादविवाद गर्ने समय थिएन।
एम्बुलेन्समा साईली दिदीलाई राखेँ, बुवालाई राखेँ । लागेँ, काठमाडौंतर्फ । बाटो अलिक अप्ठेरो थियो । ड्राइभरजी अलि रिसाउँदै हाँकिरहेको थियो । हामीले बिस्तारै चलाउनु न दाइ भन्दै थियौँ, तर ऊ मान्नेवाला थिएन । बाटोमा साइला दाइलाई देखेँ । एम्बुलेन्स रोकेर आमालाई काठमाडौँ लगेर थप उपचार गर्ने कुरा सुनाएँ । अनि हामी फेरि बाटो लाग्यौँ ।
तर साइला दाइलाई आमा नरहेको भनी कसैले खबर गरिसकेको भान भयो । किनकि उनी स–परिवार किरिया बस्ने तयारीका साथ आएका देखिन्थे । दाइ केही नबोली हेटौँडातिरै गए । लाग्यो, परिवारलाई घरमा छोडेर फर्कने होलान् । अहँ, तेस्तो भएन । साइला दाइ पनि उतै बसे, उनलाई पनि आमाको रत्तिभर चिन्ता लागेको देखिनँ ।
हामी आधा बाटो पुगिसक्दा माइला दाइ पनि दक्षिणकाली पुगेको खबर पाएँ । हेटौँडा घर आउनलाई । आमा बिरामी वा हस्पिटल भर्ना गरेको मात्र खबर पाएको भए सायद उनी पनि आउँदैनथे । मृत्युवरण नै गरिसकेको खबर माइला दाइलाई कसैले सुनाइदिएकोले बाध्यतावश ढिलै भए पनि निस्केका रहेछन् । मैले फोन गरेर काठमाडौँ नै फर्कनु भन्ने खबर पठाएँ । हामी आमालाई उपचारका लागि काठमाडौँ नै ल्याउदैछौँ भनेको थिएँ । माइला दाइ फर्किए ।
लगभग राति ९ बजे काठमाडौँ पुग्यौँ । अब पहिलो आशा टिचिङ्ग हस्पिटल, महाराजगञ्ज थियो । एम्बुलेन्स त्यही लगियो । राजनीतिक साेर्सबिना बिरामी भर्ना समेत हुन नसक्ने हस्पिटलमा हामी आईसीयु खोज्न पुग्यौँ । त्यहाँ आईसीयु छैन भनेर दिइएन ।
हामीलाई टिचिङ्गमा छोडेर एम्बुलेन्स फर्किसकेको थियो । फेरि टिचिङ्गकै अर्को एम्बुलेन्स लिएर चाबहिलस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा लगेँ । त्यहाँ आईसीयू भेटियो । भर्ना गरेर आमाको उपचार सुरू भयो । अब झोलाभरि औषथी बोक्ने दिनचर्या सुरु भयो ।
डाक्टर भूपेन्द्रले ठीक हुने आशा देखाउनुभो, धैर्य गर्न भन्नुहुन्थ्यो । धैर्य गरिरहेँ । तर ३ दिन, ४ दिन भैसक्यो, बिरामी उस्तै । मात्र मोनिटरको उतारचढाव रेखाले दिदी, बुवा अनि मलाई शान्त्वना मिल्थ्यो । कहिलेकाहीँ माइलादाइ आउँथे, आमाको अवस्था बुझ्न । अन्य दाइहरु घरमै थिए ।
९ दिनपछि आमाको होस फर्कियो । मैले जीवनकै ठूलो सफलता ठानेर भगवानलाई धन्यवाद दिएँ । डाक्टरले बोलाएपछि म भित्र गएँ । मलाई देखेर आमाले टुलुटुलु हेर्नुभो । मेरो चाहिँ आँखा रसाए । आमाका पनि आँखा रसाए ।
उहाँलाई कस्तो भइरहेछ भनी सोधेँ । आमाले बिस्तारै मुख खाल्नुभो– ‘कम्मरमुनि दुखिरहेको छ ।’
डाक्टरसँग थप सल्लाह गरेर एक्स–रे गरियो । एक्स–रे रिपोर्ट हेरेपछि डाक्टरको निष्कर्ष थियो– ‘एम्बुलेन्समा लामो बाटो सुतेर आउँदा ऊफ्रिएर हड्डी चर्किएको छ । सुगरको पुरानो बिरामी भएकोले जोड्न टाइम लाग्छ ।’
मैले एम्बुलेन्सको ड्राइभरलाई सम्झिएँ । मनमनै भनेँ- जय होस् तेरो ! उसले नमान्दा नमान्दै ल्यायौँ, रिसाएर एम्बुलेन्स हुइँकायो । उसको त्यति गल्तीले आमा हिड्न/चल्न नसक्ने हुनुभो । उसको धर्म त्यही थियो होला ।
यसरी चितामा लैजान ठीक्क पारिएको आमाको ज्यान जोगियो । उहाँसँग बाँकी केही वर्ष बोल्न, आशीर्वाद लिन पाइयो । तर त्यही हड्डी चर्किएकाले आमालाई ७–८ वर्ष अपाङ्गताको महसुस भयो । हिँडडुल गर्न सकस भइरह्यो । तर पनि उहाँको जीवन थप ७–८ वर्ष बचाउन सकेकोमा मलाई सन्तोष हुन्छ ।
आज आमाले वास्तवमै यो संसार छाड्नुभएको पनि । ६ वर्ष बित्यो । कालले बाेलाएपछि २०७५ पुष १० गते उहाँले हामीलाई छाडेर जानुभयो । सांसारिक दुःखबाट मुक्त हुनुभयो । मेरो मनमा भने आमासँग बिताएका क्षणहरू उस्तै ताजा भएर आइरहन्छन् ।