रुपन्देही । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालन ल्याइएको छ । ई–ड्राइभ लुम्बिनी नेपाल र ई–ड्राइभ नेपालको सहकार्यमा राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । योसँगै अब कुनै पनि यात्रुले ई–ड्राइभ नेपालको एप मार्फत् अनलाइनबाट आफूलाई आवश्यक सवारी साधनको बुक गरि गन्तव्यमा पुग्न सक्नेछन् ।
ई–ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएका छन् । इ–ड्राइभ नेपाल प्रालिले बिगत ६ महिनादेखि काठमाडौं उपत्याकामा राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएको थियो । अहिले उसले सेवा विस्तार गरी भैरहवा–बुटवल लगायत वरिपरिका क्षेत्रमा सेवा संचालन सुरु गरेको हो । योसँगै अब लुम्बिनी प्रदेशका कुनै गन्तव्यमा जानु परेमा सर्वसाधरणले इ–ड्राइभको एपमार्फत् सवारीसाधन बुक गरी तोकिएको शुल्क तिरेर गन्तव्यमा पुग्न सक्नेछन् । यस सेवाले सवारीसाधन बिहीन यात्रुलाई जुनसुकै बेला सेवा लिन सहज हुने विश्वास गरिएको छ ।
पहिलो चरणमा कार, मोटरसाइकल, स्कुटर जस्ता सवारी संचालनमा ल्याइएको हो । निकट भबिष्यमैं बिद्युतीय टेम्पो र एम्बुलेन्स पनि संचालन गर्ने योजना छ । इ–ड्राइभमा आबद्ध सवारी प्रयोग गर्दा यात्रुको जोमिखलाई हेरेर बीमा गरिएको छ भने सुरक्षालाई दृष्टिगत गरी मनिटरिङको व्यवस्था मिलाइएको छ ।
खासगरी स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर दिने, इलेक्ट्रिक सेवाको उच्चत्तम प्रयोग गर्दै इन्धनका लागि बिदेशिने ठूलो धनराशी जोगाउनु र बातावरणको संरक्षण गर्नु पनि इ–ड्राइभ नेपाल उद्देश्य रहेको संचालकले जनाएका छन् । यसका लागि बढीभन्दा बढी इलेक्ट्रिक सवारी प्रयोग हुने जनाइएको छ । कम्पनीले पहिलो चरणमा ५ वटा आफ्नै विद्युतीय सवारी संचालनमा ल्याएको छ ।
यस्तै, एक हजार बढी मोटरसाइकल र स्कुटर तथा सयौं साना सवारी चालक युवाहरु आबद्ध भएका छन् । राइड शेरिङ सेवा अहिलेको आवश्यकता भएकाले सरकारी तवरबाट यसबारे चासो रहेको छ ।
यात्रुले प्रयोग गरेको सवारी साधनको सम्पूर्ण नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीलाई थप ढुक्क बनाउने बताइएको छ । इ–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख बराबरको बीमा र ७० हजार बराबर उपचार खर्चको व्यवस्था गरिएको छ । १० जना युवाहरुको पहलमा पहिलोपटक लुम्बिनीमा उक्त सेवा सुरु गरिएको हो । यसले सयौं युवालाई स्वरोजगार बन्न टेवा पुर्याउने देखिन्छ ।