News 24 Television
ट्राभल एजेन्सीको बदमासी, दर्ताबिनै व्यवसाय सञ्चालन 

रुपन्देही । जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा संचालित ११ वटा ट्राभल एजेन्सीहरुलाई जरीवाना सहित अन्य कारवाही गरेको छ । दर्ता, नविकरण र शाखा सञ्चालन अनुमति नलिएका ट्राभललाई कारबाही गरिएको हो । दर्ताविनै सञ्चालित ट्राभलले सर्वसाधरणलाई ठग्ने गरेको गुनासोका आधारमा अनुगमन गर्दा थुप्रै ट्राभल एजेन्सी कारबाहीमा परेका हुन् ।

जिल्ला प्रशासन र पर्यटन डिभिजन कार्यालय सहितको संयुक्त अनुगमन समितिले रुपन्देहीमा मापदण्ड पूरा नगरी संचालनमा रहेका ट्राभललाई कारबाही गरेको छ । उनीहरुलाई तत्काल आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन समेत दिइएको छ। समितिले बुटवल उपमहानगरपालिका–९ मा रहेका १४ वटा ट्राभलहरुको अनुगमन गरेको थियो । जसमध्ये ३ वटा कानुनसम्मत संचालनमा रहेको पाइए पनि बाँकी ११ वटा भने मापदण्डअनुसार नपाइएपछि जरिवानासहित कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले जानकारी दिए ।

इजाजतपत्र नलिई सञ्चालनमा रहेका रुद्रावती टुर्स एण्ड ट्राभल, खलंगा सुपादेउराली टुर्स प्रालि, लुम्बिनी हिमालय टुर एण्ड ट्राभल प्रालि, सुपादेउराली टुर एण्ड ट्राभल प्रालि, श्री दुर्गेश्वरी ट्राभल प्रालि, जनसगरमाथा टुर एण्ड ट्राभल, नमस्ते बिहानी टुर एण्ड ट्राभल, न्यु सागर एण्ड सगरमाथा र्टुस एण्ड ट्राभल, न्यु सुपादेउराली माँ टुर्स एण्ड ट्राभल प्रालि, श्री शुभसाइत टुर्स एण्ड ट्राभल प्रालि र सुपादेउराली टुर्स एण्ड ट्राभललाई जरिवानासहित कारबाहीमा परेका हुन् । यी ११ वटै ट्राभल एजेन्सीलाई कारवाहीस्वरुप जनही २० हजारका दरले दुई लाख २० हजार जरिवाना तिराइएको हो । 

प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नुपूर्व अनुमति लिनपर्ने व्यवस्था छ । यदि अनुमति बिनै सञ्चालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) ले जिल्ला प्रशासनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरेको छ । तर, अहिले बजारको सुस्ताएको आर्थिक अवस्थालाई हेरेर प्रदेश पर्यटन ऐन अनुसार कारबाही गरिएको हो । अनुगमन गरिएका ट्राभललाई तत्काल बन्द गर्न लगाई सबै निकायबाट इजाजत लिएपछि मात्रै संचालन गर्न निर्देशन गरिएको छ । 

अनुगमन समितिले गत चैत्रमा भैरहवाका १६ वटा ट्राभलको अनुगमन गरी ३ वटालाई कारबाहीसहित जरिवाना गरेको थियो । खासगरी दर्ताविनै संचालित ट्राभलले सर्वसाधरणलाई ठग्ने गरेको गुनासा आउने गरेका छन् । पछिल्लो समय अनुगमन समितिले ट्राभललाई कडाई गर्दै आएको छ । जिल्लामा दर्तावाला ट्राभल २ सय ५० को हाराहारीमा छन् । तर, त्यसमध्ये एक सयको हाराहारीमा रहेका ट्राभलले नविकरण नै गरेका छैनन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update