काठमाडौँ । उपनिर्वाचन सम्पन्न भएपश्चात नेपाली कांग्रेस–एमाले सत्ता सहकार्यको बहस फेरी सतहमा आएको छ । सहकार्यका लागि प्रयासरत कांग्रेस नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । सम्भावित समिकरणबारे कांग्रेस पंक्ति आशावादी देखिएको छ, तर सरकारको नेतृत्व सुनिश्चित नभइ, सहयोगी भूमिकामै कांग्रेससँगको सहकार्यमा एमालेले चासो देखाएको छैन ।
उपनिर्वाचनको प्रचारमा इलाम पुगेका कांग्रेस महामन्त्री गगन थापाले गत बैशाख ८ मा वर्तमान सरकार आउँदो माघअघि नै ढल्ने ठोकुवा गरिदिएका थिए । बैशाख १० गते नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि वर्तमान सत्ता समिकरण धेरै नटिक्ने अभिव्यक्ति दिएका थिए । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विगतदेखि नै कांग्रेस एमाले सरकारको आवश्यकता औँल्याउँदै आएका छन् । बैशाख १५ को उपनिर्वाचन पछि यो विषयमा सघन कसरत गर्ने कोइरालाले बताइसकेका छन् ।
बुधवार राति पनि कांग्रेस एमाले सरकारको प्रस्ताव लिएर कोइराला ओली निवास बालकोट पुगे । गत फागुन २१ मा एमाले माओवादीसहितको समिकरण बनेदेखि लगातार कांग्रेस नेताहरुले यो विषयमा जोड दिइरहेका छन् । शीर्ष तहमा नभएपनि दोस्रो तहका नेताहरुले सरकार निर्माणकै तहमा वार्ता गरिरहेको कांग्रेस नेताहरु स्वीकार गर्छन् । सरकार बजेट निर्माणको चरणमा रहेकाले बजेट लगत्तै अथवा निकट समयमै यो सहकार्यको बलियो सम्भावना कांग्रेसपंक्तिले देखेको छ ।
यद्यपी कांग्रेसको प्रस्ताव स्वीकार गर्ने हतारो एमालेले देखाएको छैन । सरकारमा वाम शक्तीहरुकै संयोजन रहेकाले तत्कालै कांग्रेसँग एकता गर्न गए गलत संदेश जान सक्नेमा एमाले सचेत देखिएको छ । तर सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका गृहमन्त्री रवि लामिछानेको सहकारीको विषय तथा नेकपा एसका कारण सरकार दिगो हुनेमा एमाले पनि विश्वस्त छैन । कांग्रेससँगको सहकार्यमा एमालेका लागि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय मुख्य छ । वर्तमान समिकरण भत्काएर फेरी कांग्रेसलाई नै प्रधानमन्त्री दिन एमाले चाहँदैन । आफुले नेतृत्व गर्नेगरी बार्गेनिङ सिटमा अहिले एमाले देखिएको छ ।
यसअघि एमाले प्रतिपक्षमा हुँदा निरन्तर सत्ता सहकार्यका लागि कांग्रेसलाई प्रस्ताव गरिरहेको थियो । अहिले परिस्थिति ठीक विपरीत छ । संसदको कमजोर अंकगणितका कारण सरकारमा चरम अस्थिरता देखिएका कारण कांग्रेस एमाले सहकार्यको सरकारको आवश्यकता विश्लेषकहरुले पनि औँल्याएका छन् । तर स्थिरताको चिन्ता भन्दापनि प्रतिपक्षी बेन्चमा बस्नै नसक्ने सत्ताकेन्द्रीत मानसिकता मुख्य समस्या हो । गत निर्वाचन यताको अस्थिर राजनीतिलाई आधार मान्ने हो भने निकट समयमै नयाँ सत्ता समिकरण नहोला भन्न सकिन्न ।