काठमाडौं । नेपालमा पहिचानको विषय सशक्त रुपमा उठ्ने गरेपनि यो मुद्धाले खासै सार्थकता पाइरहेको छैन । मुख्यगरी ठूला दलहरुले यसलाई भोट बैंकको रुपमा उपभोग गर्ने गरेको देखिन्छ । निर्वाचनहरुको सम्मुखमा पहिचानको मुद्धालाई मुख्य राजनीतिक दलहरुले पक्षधरता देखाएजस्तो गरेपनि कार्यान्वयन भने गर्ने गरेका छैनन् । जसका कारण पहिचानको एजेण्डा र मुद्धा स्थापित हुन सकेको छैन ।
यही आक्रोशमा पहिचानवादी समर्थक तथा संगठनहरु चरम आन्दोनलग गर्न बाध्य भएका छन् । खासगरी वर्तमान अवस्थामा यसको प्रभावस्वरुप कोशी प्रदेशमा पहिचानको विषय पेचिले बनेको छ । पहिचानकै मुद्धा चर्किँदा कोशी प्रदेश सरकारमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।
हाल कोशी सरकार मध्यावधितर्फ उन्मुख हुनुमा पनि पहिचानको अन्तर्य रहेको छ । प्रदेशको नाम कोशी राखिएपछि आक्रान्त बनेको कोशीमा यसबिरुद्धको आन्दोलनहरु अझै चलिरहेका छन् ।
पहिचानको आधारमा प्रदेशको नामाकराण गरिनुपर्ने, प्रदेशको नाम कोशी खारेजी गर्नुपर्ने माग राख्दै पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् ।
उनीहरुले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति नै बनाएर सशक्त आन्दोलन गरिरहेका छन् । मुख्यगरी काँग्रेस, एमाले र माओवादीको पहिचानप्रतिको धारणालाई खेद प्रकट गर्दै उनीहरु आन्दोन चर्काइरहेका हुन् ।
यही समितिको नेतृत्वमा भर्खरै सम्पन्न उपनिर्वाचनमा पहिचान पक्षधरले इलाम – २ बाट स्वतन्त्र उम्मेदवार उठाएर चुनाव समेत लड्यो । तर पहिचान पक्षधरको समर्थत प्राप्त उम्मेदवार डकेन्द्र सिंह थेगिम तेस्रो पोजिशनमै सिमित रहे । यद्यपि छोटो समयको तयारीमै पहिचान पक्षधरले प्राप्त गरेको करिब १२ हजार मतलाई भने ठूलै शक्तिको रुपमा व्यख्या भइरहेको छ ।
यसले पहिचानको आन्दोलनलाई स्थापित गराउँदै लगेको आम रुपमा टिप्पणीहरु भइरहेका छन्् । तर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने उक्त भनाइहरुलाई गर्दै कोशी प्रदेश नै ठिक भएकोले पहिचानको आन्दोलन बेतुकको रहेको टिप्पणी गरे ।
पहिचान विरोधीहरुले समेत मुख्य तारो बनाएको अवस्थामा ओलीले भने उपनिर्वाचनको मत परिणाम आएलगत्तै पहिचानलाई व्यक्तिगत र जातिय विषय भएको आरोप लगाएका हुन् ।
समृद्धिलाई मुलुकको पहिचानको आधार बनाउने पर्नेमा केही जातिय, थरगत र व्यक्तिगत पहिचानको पछाडी लागेको भन्दै ओलीले आन्दोदलनकर्ताहरुप्रति कटाक्ष गरेका छन् ।
यो अभिव्यक्तिपछि एमाले अध्यक्ष ओली पुनः पहिचानवादीहरुको निशानामा परेका छन् । प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट ९ सङ्गठनले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीमाथि पहिचानवादीहरुले आक्रोश पोखे । एमालेले प्राप्त गरेको मतलाई ओलीले अपव्याख्या गरेको उनीहरुको गम्भीर आरोप छ ।
एमालेले प्राविधिक रुपमा मात्रै जितेको तर आन्दोलनलगत हिसाबले आफूहरुले जित निकाली सकेको पहिचानवादीहरुको दावी छ । उनीहरुले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने घोषणासमेत गरेका छन् ।
यसरी विगतदेखि नै आन्दोलनरत पहिचान पक्षधरहरु ओलीको अभिव्यक्तिपछि अझ विच्कििएका छन् । हुन त अन्य प्रमुख दलहरुले पनि पहिचानको पक्षलाई खासै प्राथमिकता दिइरहेका छैनन् ।
नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि पहिचानको आन्दोलनलाई आत्मसात गर्ने बताइरहेपनि औपचारिक समर्थन भने गरेका छैनन् । बरु कोशी प्रदेश नामाकरण गर्न उनीहरु नै अग्रसर भएका थिए ।
त्यसयता पनि उनीहरुले उपनिर्वाचन तथा प्रदेश सरकार गठन गर्ने प्रक्रियाहरुमा पहिचानवादीहरुलाई विविध आश्वसन दिए । तर प्रदेश पुनः नामाङ्कनका लागि दलहरुबीच खास सहमति जुट्ने अवस्था बनेन ।
बरु उपनिर्वाचन र त्यसको परिणामपछि दलहरुको नेताबाट आइरहेको अभिव्यक्तिले पहिचान पक्षधरलाई अझ विच्काइदिएको छ । फलस्वरुप यो मुद्धा अझ पेचिले र गम्भीर बन्ने अवस्थामा पुगेको देखिन्छ ।