News 24 Television
इलामेलीहरुप्रति सुवासको के–के थिए प्रतिबद्धता ? सुहाङको कस्तो ? 

काठमाडौं । इलाम – २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जित हासिल गरेको अवस्था छ ।

५ पटकसम्म लगातार जित निकाल्दै आएका स्वर्गिय सुवास नेम्वाङको स्थानमा उनकै छोरा सुहाङ उपनिर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित भए । 

सुवासको विरासत जोगाउन एमालेले सुहाङलाई राजनीतिमा भित्र्याएको थियो । उनले अपेक्षाकृत मत प्राप्त गर्दै जित निकालेका छन् । र, राजनीतिमा बुबाको अवतार ग्रहण गरेका छन् । ०७९ को निर्वाचनमा सुवासले यही क्षेत्रबाट झिनो मत अन्तरले जित निकाल्दा सुहाङ पनि त्यसको साँक्षी थिए । 

तत्कालीन काँग्रेस, माओवादी लगायतका दलहरुको गठबनधनलाई नै पराजित गरेका सुवासले जित लगत्तै आमसभा नै गरेर जनतालाई धन्यवाद दिएका थिए ।

जितपछि आफ्नो पारिवारिक, शैक्षिक तथा राजनीतिक पृष्ठभूमिसम्म कोट्याउँदै सुवासले अग्रजहरुलाई सम्झिएका थिए । सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै सम्बोधन गरेका सुवासले आफू जे जति सफल भएको सबै इलामेली जनताकै कारणले भएको सुनाएका थिए । 

मुलुक सबैको साझा भएको सन्देश दिँदै सुवासले विभिन्न जातजाति र भाषाभाषीलाई सम्मान गर्नुपर्ने उल्लेख गरेका थिए । तसर्थ मुलुकमा एकअर्काको अस्थित्व स्वीकार गर्नुको विकल्प नरहेको संकेत दिएका थिए । 

इलामेली जनताले शिर निहुराउने खालको कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाएका सुवासले सँधै जनताको साथमा आफू हुने प्रण गरेका थिए । 

इलामको कुनैपनि मतदातालाई कानूनी तथा अन्य अफ्ठ्याराहरुमा निरन्तर सहयोग गर्नेसमेत जनाएका थिए । विगतमा पनि सँधै इलामेली जनताहरुसँग प्रत्यक्ष सम्पर्कमा रहने र आवश्यक सहयोग गर्दै आएका सुवासप्रति जनताका थप अपेक्षाहरु पनि थिए । तर उनको निधनपछि इलामेली जनता प्रतिनिधि विहीन बन्ने अवस्था आइलाग्यो । तर यो उपनिर्वाचनसँगै प्रतिनिधिका रुपमा सुहाङ आएका छन् ।

उनै सुहाङले जितपछि बुबाले नै सम्बोधन गरेको इलामस्थित चोक बजारबाट मतदाताहरुलाई मंगलबार सम्बोधन गरेका छन् । 

के–के भने सुहाङले ? 

बुबा सुवासको जित र विजयी सभाको प्रत्यक्ष साँक्षीसमेत बन्दै आएका सुहाङले सोही स्थानबाट मंगलबार आफ्नै जीतसभालाई सम्बोधन गरे । 

जसमा आफूलाई जिताउन सहयोग गर्ने सबैजसो पक्षलाई उनले धन्यवाद दिए । सुवासकै शैली र पारामा सुहाङले आम मतदाताहरुलाई धन्यवाद दिएका थिए । 

खासगरी सुहाङले बुबाकै विरासत जोगाउने हेतुको जवाफ दिँदै इलामेली जनतालाई पर्दा राजनीतिक मात्रै नभइ कानूनी र सामाजिक सहयोगसमेत गर्ने प्रतिबद्धता जनाए । 

आफू जुनसुकै अवस्था र समयमा पनि इलामेली जनताको सुखदुखमा साथै रहने सुहाङले बताए । 

मुख्यगरी मतदाता, अग्रज नेताहरु र शहिदहरुप्रति झुकेका सुहाङले मुलुकको समृद्धि र सुशासनको पक्षमा काम गर्ने पनि प्रतिबद्धता जनाएका थिए । साथै पहिचान पक्षधरहरुप्रति लक्षित गर्दै सुहाङले अफवाह र भ्रममा नपर्न टिप्पणी गरे । विविधताकाबीच एकता स्थापित भएको नेपाललाई उनले सप्त रंगी इन्द्रेणीको उपमा दिए । 

विगतमा अग्रजहरुले व्यवस्था परिवर्तनका लागि डलेको तर अब आफ्नो पुस्ताले अवस्था परिवर्तन गर्न लड्नुपर्ने सुहाङले धारणा राखे ।

बुबाकै स्थान लिँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङले राजनीति, सामाजिक तथा सामुदायिक पक्षमा सन्तुलित अभिव्यक्ति दिएका छन् । 

करिब ३ दशक इलाम – २ को  प्रतिनिधित्व गर्दा सुवासले संविधानसभाको अध्यक्षको भूमिकासमेत निर्वाह गर्ने अवसर प्राप्त गरेका थिए । तुलनात्मक रुपमा तार्किक र सन्तुलित अभिव्यक्ति दिने सुवास राजनीतिमा विवाद रहित थिए । 

उनकै विरासत जोगाउन प्रतिनिधिको भूमिका खेल्न सुहाङलाई जनताले अनुमोदन गरेका छन् । तर सुहाङ आफ्नो भूमिकामा कति सफल हुन्छन् त्यो भविष्यले नै देखाउने छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update