रोल्पा । दुर्गम जिल्ला रोल्पाका प्रहरीहरुको एउटा एउटै गुनासो छ बल्ल तल्ल मुस्किलले तीन चार बर्षमा सरुवा हुन्छ तैपनि दुर्गम छोड्नै पाइँदैन । उनीहरुका अनुसार पहिलो कुरा रोल्पा सरुवा भएको प्रहरी रोल्पा आउनै मान्दैन र आउनै परे पनि सदरमुकाम र आसपासका बजार क्षेत्रभन्दा बाहिर जानै मान्दैन । जसले गर्दा सदरमुकाम बाहिर विकट ठाँउमा दरबन्दी भएका केही प्रहरीहरु पनि भनसुन र माथिल्लो पहुँचको भरमा सदरमुकाम र आसपासकै ठाँउमा अड्डा जमाएर बसेका छ्न्।
जसको कतै केही पहुँच छैन, उनिहरु लामो समयदेखि विकट गाउँमा रहेका प्रहरी युनिटहरुमा बस्दै आएका छ्न्। उनीहरु भन्छन्- 'रोल्पाका धेरै प्रहरीहरुको जिल्ला बाहिर सुगम ठाँउमा सरुवा भएको दुई तीन वर्ष भैसक्यो तर विभागले रमाना दिँदैन र रमाना माग्दा तिमीहरुको ठाँउमा आउने मान्छे आएको छैन कसरी रमाना दिनु ? केही समय पर्ख भन्छन् । अनि कुर्दा कुर्दा तीन-चार बर्ष नै बित्छ । मान्छे आउँदैन काजमा बाहिर बसिरहन्छ । र उतैबाट बाहिर सरुवा हुन्छ ।'
रोल्पामा बसेका केही प्रहरीहरुको जिल्ला बाहिर सरुवा भएको सात वर्ष बितिसक्यो तर दरबन्दी भएको ठाँउमा जान पाएको छैन । सरूवा भएर पनि दुर्गममा नै बस्नुको विकल्प छैन । उनीहरुले दुखेसो पोख्दै भने- 'हामी दुर्गममा बस्ने र कतै पहुँच नभएका प्रहरी कर्मचारीहरुका लागि त बरु सरुवा नै नगरे पनि ढुक्क हुने थियौँ, कम्तीमा सरुवा नै भको छैन कसरी कहाँ जानु भनेर भन्न त हुन्थ्यो ।'
उनीहरुका अनुसार विभागले प्रहरी निरीक्षक दर्जा सम्मकाे सरुवा हुँदा कम्तीमा एक हप्ताभित्र रमाना दिने र सम्बन्धित ठाँउमा पठाउने गरेको भए पनि सोभन्दा तल्लो दर्जाका प्रहरी कर्मचारीहरुलाई भने सो नियम लागू नहुने र बर्सौंसम्म पनि सम्बन्धित ठाँउमा जान रमाना नदिने/नपठाउने गरेको छ । यसरी उनीहरू विभेद र अन्यायमा परेका छन् । यस बारेमा रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामासँग जिज्ञासा राख्दा जिल्लामा सरुवा भएर आउने प्रहरी कर्मचारी समयमै नआउने तथा न्यून मात्रामा आउने गरेको हुँदा रोल्पाबाट सरुवा भएर जिल्ला बाहिर जाने धेरै प्रहरीलाई पठाउन नसकिएको स्वीकारे । समस्या समाधानका बारेमा माथिल्लो निकायमा पहल भैरहेको उनले बताए ।
यता लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सम्बन्धित प्रहरी कर्मचारीबाट आफू समक्ष गुनासो नआएको बताउँदै प्रहरीका समस्याका बारेमा सम्बन्धित जिल्लामा बुझेर छिट्टै नै प्रदेश कार्यालयले समस्या समाधानतर्फ प्रक्रिया अगाडि बढाउने बताए ।
यस विषयमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले सरुवा भएको प्रहरीलाई तत्काल रमाना दिनुपर्ने र सरुवा भएको ठाँउमा प्रहरी कर्मचारी जानुपर्ने नियम भएको बताउँदै प्रहरी प्रधान कार्यालयले तत्काल सबै प्रहरी कार्यालयहरुलाई सर्कुलर जारी गरी समस्या समाधान गरिने बताए ।
रोल्पाका पनि अति दुर्गम ठाँउहरु गाम, पाछाबाङ, गोगनपानी लगायतमा अहिलेसम्म पनि मोटर बाटो, बिजुली बत्तीको समेत सहज सुविधा पुग्न सकेको छैन । ती ठाँउहरुमा समेत प्रहरी युनिट रहेका छ्न्। हाल रोल्पामा ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी पोस्ट गरी जम्मा ४० वटा प्रहरी युनिटहरु रहेको र जिल्लामा प्रहरी अधिकृत, जुनियर अधिकृत र जवानहरु गरि जम्मा ६ सय १० जना प्रहरी कर्मचारीहरुको दरबन्दी रहेको छ । तर हाल जम्मा ५ सय १७ जना मात्र प्रहरी कर्मचारीहरु कार्यरत रहेका छन् भने ९३ जना प्रहरी दरबन्दी रिक्त रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।