News 24 Television
ग्रीनजो इनर्जी इन्डियाले गर्यो नेपाल सरकारसँग ग्रीन हाइड्रोजन सहकार्यको प्रस्ताव

काठमाडौं     ।  नेपालको ग्रीन हाइड्रोजन उत्पादन अभियानमा भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले लगानीका लागि चासो देखाएको छ । 

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतसँगको भेटमा ग्रीनजो इनर्जी इण्डियाका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालले नेपाल सरकारले आवश्यक प्रबन्ध मिलाएमा आफ्नो कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको प्रतिबद्धता जनाए । 

जवाफमा मन्त्री बस्नेतले ग्रीन हाइड्रोजनको लागि आवश्यक निती बनाउन पहल गर्ने र एक अध्ययन समिति बनाउड़ पाइलट प्रोजेक्ट निर्माणमा ग्रिनजो इनर्जी इण्डियासँग सहकार्य गर्ने बताए । 

ऊर्जामन्त्री बस्नेतले नेपालको इनर्जी ग्रिडका लागि ग्रीन हाइड्रोजनका सम्भावित फाइदाहरूबारे चर्चा गरेका थिए । हाल भारतको गुजरातमा हाइड्रोजन उत्पादनका लागि इलेक्ट्रोलाइजर मेसिन उत्पादन गरेको ग्रिनजो इनर्जी इण्डियाको अनुभव सुन्दै मन्त्री बस्नेतले फ्युल सेल टेक्नोलोजीको साथै ग्रीन हाइड्रोजनलाई कसरी एकीकृत गर्दा ग्रिड स्थिरता र विद्युत प्रशारणको गुणस्तर सुधार गर्न सकिन्छ भन्ने बारे जानकारी लिएका थिए । 

भेटमा अग्रवालले हरित हाइड्रोजनलाई नेपालको तेस्रो प्रमुख ऊर्जा स्रोतको रूपमा स्थापित गर्न सकिने सुझाव दिए । साथै हरित हाइड्रोजनमा २ खर्व रुपैयाँ बराबरको लगानी भित्र्याउन सकिने बताए । 

सौर्य उर्जा उपलब्ध नहुने समयमा र ग्रिडको माग चरम अवस्थामा रहेका बेला साथै रातको समयमा ग्रिडको क्षमतामा निरन्तरता दिन हरित हाइड्रोजनबाट उर्जा उत्पादन गरि प्रयोग गर्न सकिने उनले सुझाव दिए । 

मन्त्री बस्नेतलाई प्रबन्ध निर्देशक अग्रवालले पाइलट प्रोजेक्टको रुपरेखा समेत दिनु भएको थियो । हाइड्रोजन नीतिमा स्पष्टता र साथै हाइड्रोजनको खरिद सम्झौता निती आएमा नेपालको ऊर्जा क्षेत्रमा २ खर्ब रुपैयाँ भन्दा बढी लगानी आउन तयार रहेको जानकारी दिए ।

मन्त्री बस्नेतले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्ने अभिनव दृष्टिकोणको प्रशंसा गर्दै ग्रिनजो इनर्जी इण्डियाको प्रस्ताव प्रति गहिरो चासो व्यक्त गरे।

नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्न ग्रीन हाइड्रोजनको क्षमताको बढ्दो पहिचानलाई जोड दिइएको थियो । ग्रीनजो इनर्जी इन्डिया र नेपाल सरकारबीचको सहकार्यमा देशले चाँडै नै थप दिगो र स्थिर ऊर्जा भविष्यतर्फ महत्त्वपूर्ण कदम चाल्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update