
कास्की । पोखराको फेवातालमा बेला बेलामा डुंगा दुर्घटना हुने गरेका छन् । जसका कारण कयौंले अकालमा ज्यान गुमाइरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलको नेपाल नं. ४ मुक्तिनाथ बाहिनीले कृत्रिम घटना अभ्यास गरेको छ । योसँगै अब फेवातालको जुनसुकै क्षेत्रमा दुर्घटना भए पनि त्यसको ३ देखि ५ मिनेटमा पुग्न सक्ने गरी उद्धार कार्य अगाडी बढाइएको छ ।
यो दृष्य सोमबार बिहान साढे ८ बजे कैद गरिएको हो । दृष्यमा फेवातालको दक्षिणी मोहडामा रहेको फिस्टेल गेट तिरबाट दुइवटा डुंगामा रमाइलो गर्दै युवाहरु आइरहेका छन् । अकस्मात यो डुंगा पल्टिन्छ । डुंगामा सवार यात्रुहरु तालमा डुबी सके । यसै समय घटना भएको केही मिनेटमै सशस्त्र प्रहरी बलको उद्दार टोली मोटरबोट लिएर घटनास्थल पुग्छ । तालमा डुबेका युवाहरुको उद्दार गरियो । यता आफ्ना साथीहरु अझै तालमा डुबेको भन्दै केही युवा रोइकराई गरिरहेका छन् ।
घटनाको केही मिनेटमै सबैको उद्दार हुन्छ । उद्दार गरेर ताल पारी राखेका घाइतेलाई डोरीको सहायताले ताल वारी ल्याइन्छ । उद्दार कार्य चल्दा चल्दै एम्बुलेन्स पनि घटनास्थलमा आइपुग्छ । सबै घाइतेलाई अस्पताल लगिन्छ ।
घटनास्थलमा रमितेहरुको उत्तिकै बाक्लो उपस्थिति छ । प्रत्यक्षदर्शीहरु डराएका देखिन्छन् तर नझुक्किनुहोस् । यो घटना बास्तविक भए पनि भवितब्य भने होइन् । यो त सशस्त्र प्रहरी बलको नेपाल नं. ४ मुक्तिनाथ बाहिनीले फेवातालमा दुर्घटना हुँदा कसरी तत्काल उद्दार गर्न सकिन्छ भनेर गरिएको कृतिम घटना अभ्यास हो ।
चैत–वैशाखको समयमा अत्याधिक हावाहुरी चल्ने भएकाले अन्य समय भन्दा यस समय फेवातालमा डुंगा दुर्घटनाका घटना बढ्ने गरेका छन्। त्यसैले पनि सशस्त्र प्रहरी बलले फेवातालमा रेस्क्यु टावर राखी आफ्नो सेवा दिँदै आएको छ । २०७० सालदेखि अहिलेसम्म सशस्त्र प्रहरी बलको उद्दार टोलीले ४५२ जनालाई जिवितै उद्दार गरेको छ भने ३६ जनाको सव निकालेको छ ।
सशस्त्र प्रहरी बलले फेवातालमा गरेको मानविय कार्यको सबैले खुलेर प्रशंसा गरेका छन् । उनीहरुकै कारण डुंगा दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा निकै कमि आएको छ । तरपनि उद्दार टोलीलाई फेवातालमा २४ सै घण्टा तैनाथ रहन चाहिने संरचना तयार गरि उद्दार कार्यका लागि चाहिने आधुनिक उपकरण हुने हो भने फेवातालमा हुने जस्तोसुकै घटनाबाट पनि उद्दार गर्न सकिने कालिका गणका गणपति शर्माको दावी छ ।
फेवातालमा आधिबेरी, हावाहुरी, चट्याङ तथा मनोरञ्जनका क्रममा हुने मानविय त्रुटीले डुंगा दुर्घटना हुने गर्छ । फेवातालको अधिक्तम गहिराई ७९ फिट रहेको छ भने औसत गहिराई २८ फिट रहेको छ । डुंगाको शयर जति रोमाञ्चक छ, उत्तिकै जोखिम पनि । त्यसैले डुंगा शयर गर्नेहरुनै होशियार हुने हो भने न दुर्घटना निम्तिन्छ न त उद्दारको नै खाँचो हुन्छ ।