काठमाडौँ । पछिल्ला वर्षहरुमा अटिजमको समस्या भएका बालबालिकाको संख्या बढ्दो क्रममा देखिन्छ । अटिजमको समस्या भएकाहरुलाई विशिष्ट प्रकृतिको वातावरण आवश्यक हुन्छ । विशेषगरी शिक्षा आर्जनका लागि अटिजम भएकाहरुलाई विशिष्ट शिक्षालय आवश्यक देखिन्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै सरकारी स्तरबाटै पहिलो पटक काठमाडौं महानगरपालिकाले अटिजमबाट प्रभावित बालबालिका केन्द्रित गरि विद्यालय खोल्ने तयारी गरेको छ । अटिजम के हो ? अटिजम प्रभावितको अवस्था नेपालमा कस्तो छ ? अनि काठमाडौं महानगरले अटिजम प्रभावितका लागि खोल्न लागेको विद्यालय कस्तो बन्ने छ त ?
अटिजमको समस्या भएका बालबालिकालाई लक्षित गरि सरकारी स्तरबाटै पहिलो काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने तयारी गरेको छ । स्नायु विकास सम्बन्धी समस्या अर्थात अटिजम भएका २ सय बालबालिकालाई सहजता प्रदान गर्ने उद्देश्यले महानगरले यस्तो तयारी गरेको हो । यही वैशाख ११ महानगरअन्र्तगतको शिक्षा समितिले अटिजम प्रभावितहरुलाई लक्षित गर्दै विद्यालय खोल्ने निर्णय गरेको हो । जसका लागि महानगरको गौरवको आयोजना अन्र्तगत राखिएको ‘महानगरको शिक्षा, गरिखाने शिक्षा’ अन्र्तगत रहि २ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ । यस्ता ४ वटा विद्यालयहरु महानगर क्षेत्रभित्र विभिन्न स्थानमा आगामी शैक्षिकसत्रदेखि सञ्चालन गरिने छ ।
विद्यालय सञ्चालनका लागि अध्ययन गरि विद्यालय खोल्ने क्षेत्र, पाठ्यसामग्री, लगानीलगायतका विषयमा अध्ययन शुरु गरिएको छ । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुन्छ । जसका कारण उनिहरु सामान्य बालबालिकासँग घुलमिल हुन सक्दैनन् । सामान्य स्वभावका विद्यार्थीसँगै बसेर पढ्न पनि सक्दैनन् । यस्ता बालबालिकालाई विशेष खालका सहायता, सुविधासहित सामुदायिक विद्यालय महानगरभित्र नभएकाले विद्यालय खोल्ने निर्णय भएको महानगरले जनाएको छ ।
अटिजम भएका वालवालिकालाई उचित हेरचाह गर्न सके सामान्य जिवनयापन गराउन सकिन्छ । जसका कारण अटिजम भएका वालवालिका केन्द्रित विद्यालयमा तालिम प्राप्त ठूलो जनशक्ति आवश्यक पर्ने चिकित्सक बताउँछन् ।
अटिजमको के कारणले हुन्छ भनेर पत्ता नलागे पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुनसक्ने औँल्याएका छन् । साथै वंशाणुगत, वातावरणीय प्रभावको कारणले पनि अटिजमको जोखिम बढाएको पाइएको चिकित्सक बताउँछन् । नेपालको जनगणना २०७८ अनुसार ४ हजार ८ सय ७६ वालवालिकामा अटिजम भएको देखाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कुल जनसंख्याको २ प्रतिशतमा अटिजम समस्या रहेको देखाएको छ । तर, पनि विद्यालहरुमा विशेष शिक्षाको व्यवस्था सहज नभएका कारणले अटिजम भएका बालबालिका तथा युवा ठूलो मर्कामा परिरहेका छन् । काठमाडौं महानगरले थालेको यो प्रयासले भने अटिजम भएका बालबालिकाका लागि केही सहजता प्रदान गर्ने देखिन्छ ।