
कास्की । पर्यटकी राजधानी पोखराको आकर्षणको केन्द्र हो, फेवाताल । तर, पोखराको महत्व भने यतिमै सीमित छैन । फेवातालको बीचमा रहेको एउटा थुम्को र त्यहाँ रहेकी तालबाराही माता जसको दर्शनका लागि वार्षिक लाखौं भक्तजन पुग्छन् । तर, झण्डै एक वर्षदेखि तालबाराही माता फलामको बाकसमा बन्द छिन् ।
जसका कारण माताको दर्शन गर्न नपाउँदा फेवाताल आएका पर्यटक तथा धर्मावलम्बी मन खल्लो बनाएर फर्किने गरेका छन् । नेपालको पर्यटकीय राजधानी पोखरा घुम्न आउने पर्यटकहरुको पहिलो रोजाई हो, फेवाताल ।
यसरी फेवाताल पुग्ने जो कोहीले पनि डुंगा चढेर तालबाराही माताको दर्शन गर्न छुटाउँदैनन् । तर, झण्डै एक वर्ष हुन लागिसक्यो फेवाताल आउने पर्यटकले तालबाराही माताको दर्शन गर्न पाएका छैनन् ।
यस्तो अवस्था कहिलेसम्म रहने हो थाहा छैन् । २०७२ सालको भुकम्पले तालबाराही मन्दिरको माथिल्लो भागमा क्षति पु¥याएपछि गत वर्ष मन्दिरको पुनर्निर्माण भन्दै पुराना संरचना भत्काइयो ।
क्षमा पुजा गरेर बडो तामझामका साथ मन्दिरको शिलन्यास गरेको पनि एक वर्ष पुग्न लागिसक्यो तर अहिलेसम्म शिलन्यासबाहेक अरु काम अगाडी बढ्न सकेको छैन । निर्माणको काम सम्पन्न नभएपछि तालबाराही माताको मुर्तिलाई फलामको बाकसमा ताला लगाएर राखिएको छ ।
फेवातालको प्रमुख आकर्षण मध्येको एक तालबाराही माताको मन्दिर एक वर्षदेखि अलपत्र हुँदा तालबाराही परिसरमा जाने पर्यटकको पनि कमी आएको छ । वर्षौदेखि फेवातालमा डुंगा चलाउँदै आएका बुद्धि बहादुर परियार मन्दिर नबनेकै कारण डुंगा चढेर मन्दिर परिसर पुग्ने पर्यटक तथा धर्मालम्वीको संख्या ५० प्रतिशतले घटेको दाबी गर्छन् ।
सामान्यतया दैनिक ५÷६ हजार मानिस मन्दिर परिसर डुंगा वढेर जाने गरेपनि मन्दिर निर्माण नहुँदा अहिले मानिसको ओहोरदोहोर नै घटेको छ ।
दैनिक १५ सयभन्दा धेरै मानिस मन्द्रि छेउ जाने गरेको बताइन्छ । तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागको आन्तरिक लडाइका कारण निर्माण धकेलिएको भन्दै पर्यटन व्यवसायी आक्रोश पोखिरहेका छन् ।
मन्दिर निर्माणको सम्पूर्ण अधिकार प्राप्त निकाय हो तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति । समितिले ताल जमिनको बनोट हेरेर प्राविधिक समिति नै निर्माण गरि मन्दिरको नक्शा तयार पारेको थियो ।
त्यो नक्शामा असमति जनाउँदै पुरातत्व विभागले काम रोक्यो तर पुरातत्व विभाग कै सुझाव तथा सल्लाह बमोजिम निर्माणको काम अगाडी बढाउछु भन्दा पनि विभागले ठोस निर्णय नगरेका कारण अहिलेसम्म निर्माण गति नलिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रशुराम पहारी बताउछन् ।
पोखरा महानगरपालिका भित्रको पवित्र तिर्थस्थल मध्ये एक हो तालबाराही मन्दिर तर पोखरा महानगरपालिकाले मन्दिरको पुनर्निर्माणमा कत्तिपनि चासो दिएको छैन ।
१४औं शताब्दिमा पत्ता लागेको तालबाराही मन्दिरको विभिन्न किम्बदन्ती रहेका छन् । पशुपतिनाथ मन्दिरमा जस्तै तालबाराहीमा पनि हरेक दिन सन्ध्या आरती गरिन्छ तर तालबाराही माताको मुर्तिलाई नै फलामे बाकसमा साँचो लाएर राखेको यो अवस्थामा तालबाराही माताकै दर्शनका लागि आउने पर्यटकहरुभने नरमाइलो मान्दै फर्किने गरेका छन् ।