![लुम्बिनीमा पनि सत्ता खटपट, जसपाका मन्त्रीले दिए राजीनामा](https://www.news24nepal.com/uploads/posts/bhandarilal-ahir_UbRPIacCzo-1713688889.png)
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि उनले राजीनामा दिएर बाहिरिएका हुन् ।
मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आज मात्र सार्वजनिक भएको हो । उनले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना बिभागिय मन्त्री नियुक्त भएका थिए । वैशाख ६ गते उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका थिए ।
सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबीच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय गरी २ मन्त्रालय दिने लिखित सझौता भएको थियो । तर २ मन्त्रालय नपाएपछि जसपा सरकारबाट बाहिरिएकाे छ ।
प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।