कपिलवस्तु । चैत बैशाख डढेलोको अत्याधिक जोखिम हुने समय हो । गर्मीसँगै हावाहुरीकोसमेत मौसम भएकाले आगलागी र बन डढेलोको जोखिम अत्याधिक हुने गर्छ, यो बेला ।
नागरिकको लापर्वाही र जनचेतनाको कमीले गर्दा डढेलो लाग्ने गरेको छ । तराईका बनहरुमा मात्र नभई पहाडी क्षेत्रका विभिन्न ठाउँमा यतिबेला डढेलो लागिरहेको छ ।
डढेलो नियन्त्रणका लागि विभिन्न पक्षबाट विभिन्न प्रयासहरु भइरहँदा कपिलवस्तुमा एयर ब्लोरको नमुना अभ्यास गरिएको छ ।
वन डढेलो नियन्त्रण गर्ने उद्धेश्यका साथ नेपालमै पहिलो पटक कपिलवस्तुमा एयर ब्लोरको नमुना अभ्यास गरिएको छ ।
डिभिजन वन कार्यालय कपिलवस्तु र तिलौराकोट साझेदारी वन उपभोक्ता समुहको अगुवाईमा साझेदारी वनको ढेकहरी स्थित वन क्षेत्रमा नमुना अभ्यास गरिएको हो ।
वन डढेलो नियन्त्रणका लागि बिदेशमा प्रयोगमा रहेको एयर ब्लोर वन कर्मचारी, समुहका सदस्य र आगो नियन्त्रण दस्तालाई सहभागी गराई अभ्यास गरिएको हो ।
वनमा लाग्ने डढेलो नियन्त्रणका लागी लागी रुखका पात र वाटर बेगबाट पानीको फोहारा हाल्ने गरिदै आएकोमा एयर ब्लोरको प्रयोग गरि हावा मार्फत नियन्त्रण गरिन्छ ।
आफुहरुले रुखका हाँगाबिगा र पानीको प्रयोग गरेर डढेलो नियन्त्रण गर्दै आएको भए पनि नयाँ प्रविधिको एयर ब्लोरको प्रयोगले वन डढेलो नियन्त्रणको कार्य धेरै नै सहज हुने वन डढेलो नियन्त्रण दस्तामा रहेका वन हेरालुहरुको भनाई छ ।
कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समुहले देशमै पहिलो पटक डढेलो नियन्त्रण दस्ता प्रयोगमा ल्याएको हो ।
सो साझेदारी गाँउबस्ती र राजमार्ग सँग जोडिएका कारण वन डढेलोको उच्च जोखिम क्षेत्रमा पर्दछ । यहाँ डढेलो नियन्त्रणमा १५ जना डढेलो नियन्त्रण टोलीसँगै हेरालु र उपभोक्ता बिच सहकार्य हुँदै आएको छ ।
यस क्षेत्रमा वन डढेलोको उच्च जोखिम मुल्याङ्कन गर्दै डढेलो नियन्त्रणको उपकरणको प्रयोग र अभ्यासलाई प्राथमिकता दिइएको छ ।
एयर ब्लोरले जोडसँग हावा फाल्ने हुदाँ आगो निभाउन तथा आगलागी बढ्न नदिन सहयोग पुग्छ ।
यसले हावाको माध्यमबाट पात पतिङ्गर हटाउन र फायरलाइन सफा बनाउन सहयोग पु¥याउँछ । वनमा लागेको आगो अन्यत्र फैलन नदिन र भएका पात पतिङ्गरलाई एकत्रित बनाउन एयर ब्लोरले सहयोग पुर्याउने वन प्राबिधीकहरु बताउँछन ।
१ लिटर पेट्रोलमा एक घण्टा सम्म चल्ने र आगो नियन्त्रणमा प्रभावकारी भएकाले एयर ब्लोर उपयोगी प्रबिधी भएको वन अधिकारीहरु बताउँछन् ।
खासगरी तराईका जिल्लाहरुमा चैत बैशाखको समयमा बन डढेलोको जोखिम अत्याधिक हुने गरेको छ ।
रुखका पातहरु झरेर नयाँ पालुवा पलाउने भएकाले पनि डढेलोको जोखिम बढेको हो । डढेलो नियन्त्रणका लागि पछिल्लो समय स्थानीय समुदायको पहलकद्मी भने प्रशंसायोग्य रहेको छ ।