काठमाडौं । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी ठमेल पर्यटन विकास परिषद्ले गरेको छ । ठमेल २४ घण्टा खुला गर्न केही दिनअघि गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका थिए ।
नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नेछन् । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौँ)ले लिनेछ ।
सबै सरोकारवालासँगको रायसुझावका आधारमा पूर्णकालीन व्यवसाय सञ्चालन सम्बन्धी सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको छ । परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर व्यवसायीले दरबारमार्ग र ठमेलमा २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् ।
ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन् । रात्रिकालीन व्यवसाय अन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन् ।
ठमेलर र दरबारमार्ग चौविसै घण्टा खुल्ने भएपछि व्यवसायीहरू पनि उत्साहीत भएका छन् । तर, ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले भने यो सुविधा पाउने छैनन् ।
आचारसंहिताअनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गर्ने तयारी पनि भइरहेको छ । मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा मात्रै खोल्न दिइने यदि पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ ।
दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने व्यवसायीहरूको विश्वास रहेको छ ।
अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएका छन् भने दरबारमार्गमा करिव २ सय व्यवसायी रहको र करिव ७ हजार भन्दा बढीले रोजगारी पाएका छन् ।