काठमाडौँ । आज काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षा हुन थालेकाे छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि साँझसम्म हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएकाे छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । “यो समय प्रि–मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन भन्ने हुँदैन । मलुकका केही स्थानमा बर्षा हुन्छ”, उनले भने, “ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायुप्रदूषण न्यूनीकरणमा भने टेवा पुग्ने देखिँदैन ।”
उनका अनुसार लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको उनको भनाइ छ ।
कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । माहाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
आज राति भने कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।
विपत व्यवस्थापनविद् डा धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताए । “यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उनले भने, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ ।”