News 24 Television
कविता : जीवनप्रति विद्रोह

किन बढदै गएको छ अचेल
जीवनप्रतिको विद्रोहहरु ?
मानौ,
जीवनले तिम्रा आँखामा 
सपना भरेर श्राप दिएको छ
मानौ,
जीवनले तिम्रा ओठमा 
मुस्कान छरेर पाप गरेको छ
झुन्डिनै थियो त पाठेघरमै 
सालनालले घाँटी किन बेरेनौ ?
किन प्रसवपीडा दिएर आमालाई 
जीवनलाई प्रेम गरी आयौ 
किन बाबाको ओठमा मुस्कान छरी 
सृष्टिमा गुलाफ बनी छायौ
त्यो अनुहार नदेखाउँदै 
पाठेघरभित्रै टाउको बजारी 
रगत भएर 
योनीबाटै सुलुक्क बगेर गएको भए 
के जान्थ्यौ ?
आमाको 
आन्द्राहरुले पासो लगाएको भए
कस्ले तिमीलाई 
आफनै हत्यारा थान्थ्यौ ?
किन बढदै गएको छ 
अचेल 
जीवनप्रतिको अस्वीकृतिहरु 

आज आहा जस्तो लाग्ने जिन्दगी
भोलि पासोमा झुन्डिएको सुन्छु 
डाक्टर झुन्डियो 
इन्जिनियरले सेतीमा जीवन फाल्यो 
वकिलले कालो कोटले नै जिन्दगी बेर्यो 
झुपडीमा जिन्दगी झुन्डियो 
दरबारमा जिन्दगी झुन्डियो 
गरिबले गरिबी सहन नसकेर 
जीवन फाल्यो होला भन्छु 
धनीले किन जीवन फाल्यो ?
जीवनप्रतिको बिद्रोह बुझनै सकेको छैन 
जीवन तस्वीरको फ्रेममा फाल्यो 
प्रेममा फाल्यो 
दुई महिनाको सम्वन्धमा फाल्यो
आफ्नै निर्णयको दुर्गन्धमा फाल्यो 
वचनको रापमा फाल्यो 
पापमा फाल्यो 
सबैले जिवनलाई यसरी सृंखलाबद्ध फाल्दा 
सबैको लासलाई अखबारले पाल्दा
अचेल 
अमृत जस्तो 
जीवन, विषले नै बगाए जस्तो लाग्छ 
अचेल जीवनप्रतिको मेरो प्रेमलाई 
मजाक उडाए जस्तो लाग्छ
जीवनलाई प्रेम गर्ने मै मात्र हुँ कि 
भनेर आफैसँग लाज लाग्छ 
किन बढदै गएको छ अचेल
जीवनप्रतिको विद्रोहहरु ?

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update