News 24 Television
कांग्रेसकाे अवरोधपछि संसद बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा (संसद) को आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेका विरुद्ध निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेपछि सदन अवरुद्ध भएको छ ।

    आजको बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए ।    सचतेक थिङले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक रु एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुदैन भनी सरकारसँग प्रश्न गरिन् । साथै उनले सो सम्बन्धमा आजै बसेको कांग्रेस संसदीय दलले सहकारीको रकम अपचलन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको जानकारी गराइन् ।

    त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिए । उनले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उठेर उभिईरहेपछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन  गर्नका लागि सहयोग गर्न आग्रह गरे । त्यसपछि सत्ता पक्षका सांसदहरु पनि आसनबाट उभिएपछि सभामुखले सदन सञ्चालन गर्नका लागि बस्न पटक–पटक आग्रह गरे ।

तर  कांग्रेस सांसदहरु आसनमा बस्न नमानेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे । तर पछि सूचना टाँसेर उक्त बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठक स्थगित गरेर सभामुख घिमिरे अहिले छलफलमा जुटेका छन् । उनले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेर संसद खुलाउने प्रयास जारी राखेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update