
काठमाडौं । नेपाली कांग्रेसलाई चुनावी गठबन्धनको चंगुलबाट छुटाएर एकल प्रतिस्पर्धी बनाउने मिसनमा शेखर–गगन समुह सफल भयो ।
सोहि अनुसार इलाम र बझाङ उपनिर्वाचनमा कांग्रेसले उम्मेदवारी पनि दिएको छ । तर, शेखर–गगन यो उम्मेदवारीमा सन्तुष्ट भने देखिनन् । कारण हो, कांग्रेसका उम्मेदवारी चयनको असन्तुष्टी ।
उम्मेदवार छनोट गर्दा देउवाको चेपुवामा परेका शेखर गगनले उपनिर्वाचनमा कस्तो भूमिका खेल्छन्, चासोको विषय बनेको छ ।
पार्टीमा चुनावी गठबन्धनविरुद्धमा रहेका शेखर कोइराला–गगन थापा समुहको कोणबाट हेर्ने हो भने हालको चुनावी परिवेश उनीहरुकै इच्छा अनुकुल छ ।
गत निर्वाचनदेखि प्रयासरत यो समुहले गोदावरी महासमिति बैठकमा संस्थागत रुपमै चुनावी गठबन्धनको विपक्षमा प्रस्ताव लगेर निर्णय समेत गराए । तर, कांग्रेसले एकल उम्मेदवारी दिएको यो उपनिर्वाचनसँग पनि शेखर–गगन सन्तुष्ट छैनन् । कारण हो, उपनिर्वाचनका लागि उम्मेदवार चयनको विषय ।
कांग्रेसले विवादकाबीच डम्बर खड्कालाई इलाम २ को टिकट दिइयो । बझाङ १ को १ मा अभिषेकबहादुर सिंहले टिकट पाए । यो निर्णय गर्न केन्द्रमा पदाधिकारी तहमै लामो रस्साकस्सी पर्यो ।
देउवा निवास बुढानिलकण्ठमा उम्मेदवार चयनको बैठक बस्दा खड्कालाई टिकट दिए इलाम २ मा हारको जिम्मा लिनुपर्ने भन्दै शेखर गगनले देउवालाई चेतावनी नै दिए । तर, देउवा आफ्नो अडानबाट टस को मस भएनन् । यसरी उम्मेदवारी दिँदा पार्टी एक ढिक्का भएर नजाने महशुस भने स्वयं देउवा र संस्थापन पक्षले पनि गरेको छ ।
उम्मेदवारी चयनमा चित्त नबुझेपनि पार्टी निर्णय शिरोपर गरेर उम्मेदवारलाई जिताउनका लागि शेखर–गगनले कडा परिश्रम गर्नुपर्ने हो । तर त्यो छाँट उनीहरुले देखाएका छैनन् ।
गठबन्धन नगरी एकल चुनावी मैदानमा उत्रिएपछि कांग्रेसलाई जिताउने जिम्मा हाम्रो भयो भन्ने महामन्त्री गगन पनि व्यवहारतः त्यति खरो उत्रने मुडमा देखिएका छैनन् ।
यसैलाई बुझेर सायद सभापति देउवाले पनि इलाममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा तथा बझाङमा नेता एनपी साउदलाई चुनावी कमाण्डर बनाएका छन् ।
भौगोलिक हिसाबले उनीहरु चुनिएको तर्क हुन सक्ला, तर कांग्रेसमा राष्ट्रव्यापी प्रभाव राख्ने गगनलाई कमाण्ड नदिइनु वा नलिइनुले आन्तरिक असन्तुष्टी छर्लंङ परेको छ । आन्तरिक असन्तुष्टीको यो माहोल कायम रहे कांग्रेसका लागि उपचुनाव जितविहीन रहने जानकारहरु बताउँछन् ।
गत निर्वाचनमा इलाम २ मा एमालेका सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित हुँदा उनै खड्काले पार्टीबाट ठुलो अन्तरघात भएको आरोप लगाएका थिए । यो पटक उनी गठबन्धनको होइन, केवल कांग्रेसको उम्मेदवार छन् ।
यस्तोमा उनलाई खुलेर सहयोग गर्न नसके शेखर–गगनले पार्टीभित्रैको आलोचना खेप्नुपर्नेछ । चुनावी गठबन्धनबाट कांग्रेसलाई मुक्त गर्ने प्रस्तावपनि केवल देउवालाई कमजोर बनाउनका लागि मात्रै ल्याइएको त होइन भन्ने प्रश्न थप पेचिलो बन्नेछ ।