काठमाडौं । महाभारतकालिन किंवदन्तीसँग जोडिदै आएको झापाको किचकबधको प्राचीनताको बारेमा प्राय सवाल उठ्दै आइरहेको थियो ।
यस स्थानको ऐतिहासिकता पुष्टि गर्न पटक–पटक उत्खनन गरिएको थियो । पछिल्लो सातौपटकको उत्खननबाट किचकबध २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको छ । यो पुष्टिसँगै यो स्थानको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने चुनौति थपिएको छ ।
झापाको भद्रपुर नगरपालिकाको २ र ३ वडामा पर्ने किचकबधमा पुरातत्व विभागले चैत १ गतेदेखि सातौँ पटक उत्खनन सुरु गरेको थियो ।
पछिल्लो उत्खननबाट किचकबध २२ सय वर्ष पुरानो रहेको प्रमाणित भएको छ ।
देउनियाँ खोला किनारस्थित १० बिगाहा क्षेत्रफलको टिलानुमा दरबारका भग्नावशेष खोज्दै पुरातत्व विभागले उत्खनन थालेको थियो ।
यस पटक गरिएको उत्खननबाट ऐतिहासिकता पुष्टि गर्ने एउटा भवनको भग्नावशेष फेला परेको छ ।
पूरानो मन्दिर भएको स्थानमुनि अर्को पनि एउटा भवनको पूर्ण भाग फेला पर्ने सम्भावना रहेको पुरातत्वविद उद्धव आचार्यले बताए ।
उत्खननका क्रममा फेला परेका सुराहीलगायत माटो र धातुका भाँडावर्तन, गहना र इँटा संकलन गरी कार्बन परीक्षण गर्दा किचकबध इसापूर्व १ सय २० देखि २०० अर्थात बाइस सताव्दी पुरानो पुष्टि भएको पुरातत्वविद आचार्यको भनाई छ ।
किच्चकबधको प्राचीनता पुष्टि भएसँगै यो स्थानको पर्यटकीय महत्व पनि बढेर गएको पुरातत्व विभागका अधिकृत नविन अधिकारीको भनाइ छ ।
उत्खनन गर्दा भेटिएको संरचना र वस्तुहरुबाट थप प्रमाणहरु थपिदै जाने अनुसन्धानमा संलग्नहरुको अपेक्षा छ ।
सीमित बजेटमा उत्खनन र अनुसन्धान गर्न जटिल भएपनि यसको प्राचीनता पुष्टि गर्न सक्नुलाई पुरातत्व विभागले महत्वपूर्ण उपलव्धि मानेको छ ।
आठौं चरणको उत्खननका लागि विभागले सरकारसँग आवश्यक बजेटको माग गरिसकेको छ ।
२२ बर्षदेखि विभागले उत्खनन गर्दै आइरहेकोले यो स्थानको संरक्षणमा स्थानीय सरकार जुटनु पर्ने अधिकृत अधिकारीको सुझाव छ ।
२०३५ सालमा मेची क्याम्पसका इतिहास विषयका प्राध्यापक घनश्याम खनालको अगुवाइ इतिहासका विद्यार्थीले यस क्षेत्रको उत्खनन गरेका थिए । त्यस वेला पुराना माटाका भाँडा, ठुला आकारका लुम्बिनीमा पाइएका जस्ता चेप्टा इँटालगायतका पुरातात्त्विक सामग्री फेला परेको थियो ।
यो स्थल गुप्तकाल अर्थात् इस्वी सम्वत्को पाँचौँ शताब्दीसम्म रहेको र यस क्षेत्रमा पाँचौँ शताब्दीमै आएको शक्तिशाली भूकम्पका कारण सबै ध्वस्त भएपछि खण्डहरमा परिणत भएको अनुमान फ्रेन्च भुगर्भविदसहितको एउटा टोलीले केही वर्ष अघिको अध्ययन भ्रमणमा क्रममा गरेको थियो ।
पुरातत्विक दृष्टिकोणले यस क्षेत्रको संरक्षणका लागि कार्ययोजना बनाएर अघि बढ्ने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए ।
यस पटक उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकोले यी सबै रुख र अहिले कायमै रहेको क्लबको हल हटाउन तथा पुरानो किचकबधको मूर्ति स्थानान्तरण गर्न आवश्यक रहेको विभागले जनाएको छ ।
त्यस्तै किचकबध स्थलभित्र सवारी साधन प्रवेश रोक्न र संरचनास्थलको संरक्षणमा ध्यान दिन विभागले स्थानीय सरकाकरलाई आग्रह गरेको छ ।