काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले दक्षिण कोरिया भ्रमणको तयारी भइरहेको दाबी गरेका छन् ।
जुगल हिमालको आरोहणमा निस्किन लागेको कोरियन टोलीलाई बिदाई गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रमणको तयारी चलिरहेको दाबी गरेका हुन् ।
के प्रधानमन्त्रीको कोरिया भ्रमणले दुई देशबीवको सम्बन्ध र आपसी हित थप उचाईमा पुग्ला ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले दक्षिण कोरियाबाट नेपालको जुगल हिमाल आरोहणका लागि आएका नागरिकलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विदाई कार्यक्रमको आयोजना गरे ।
कार्यक्रममा प्रचण्डले जुगल हिमाल आरोहणले मुलुकको पर्यटन क्षेत्रमा धेरै विकास हुने अपेक्षा राखेको र नेपाल त्यसतर्फ गएको विश्वास व्यक्त गरे ।
प्रचण्डले हिमाल आरोहणकालागि बिदाई गर्दै गरेको सम्बोधनको क्रममा आफ्नो कोरिया भ्रमणको तयारी चलिरहेको समेत खुलासा गरिदिए ।
नेपाल कोरियाको सम्बन्ध स्थापित भएको ५० वर्षको सन्दर्भमा हुन लागेको हिमाल आरोहणले दुई देशको सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।
दक्षिण कोरिया र नेपाल सम्बन्ध
दक्षिण कोरिया र नेपालको सम्बन्ध स्थापित भएको ५० वर्ष पुरा भएको छ ।
कोरिया–नेपाल सम्बन्ध र पछिल्लो समय कोरिया नेपालीको आकर्षक श्रम गन्तव्य पनि बनिरहेको बेला केहि उतारचढाव भने पक्कै छन् ।
कोरियन भाषा परीक्षामार्फत कोरियाले नेपालीलाई श्रमममा लैजाने गरेको छ भने नेपालबाट कोरियामा श्रम गर्न जानेहरुमा समेत उत्तिकै उत्साह देखिन्छ ।
तर, नेपालमा कोरिया जान पाउँ भन्दै भएका पछिल्ला केहि हिंसात्मक गतिविधि र त्यसमा सरकारको लापरबाहीले भने कोरियाले नेपाललाई हेर्ने नजर त फेर्दैन, प्रश्न पनि कायमै छ ।
आकर्षक तलब सुविधासहित श्रमका लागि कोरियाले नेपालीलाई लैजाने गरेपछि नेपालमा कोरियन भाषा परीक्षा उत्तिर्ण गरेर जान नपाएका युवाहरुले आन्दोलन गर्नेदेखि कोरियाले लागू गराएका नियम कानून फेर्न बाध्य पार्नेसम्मका गतिविधि भइरहेका छन् ।
कुटनीतिक तहबाट हुनुपर्ने विषय सबै आन्दोलन र सरकारी दबाबको भरमा गर्ने प्रयत्न गर्नुले पनि पछिल्लो समय नेपालप्रति कोरिया सकारात्मक छ ? शंका बढिरहेको छ ।
प्रधानमन्त्रीको भ्रमण र उपलब्धि
प्रधानमन्त्री प्रचण्डले उच्चस्तरिय भ्रमण गर्दै नेपालको बलियो प्रतिनिधित्व जनाउन सके दुई देशबीचको सम्बन्धमा सुधार मात्रै आउने छैन् ।
नेपालमा हुने गतिविधि र त्यसले कोरियालाई बाध्य पार्ने किसिमका कुरामा समेत सकारात्मक सन्देश जानेछ ।
प्रधानमन्त्री प्रचण्डले गर्ने भनिएको भ्रमणका एजेण्डा, प्रतिनिधित्वको सवाल र भ्रमणलाई सफल बनाउन गर्ने प्रयत्नले धेरै विषय प्रष्ट पार्नेछ । यद्यपी उच्चस्तरिय भ्रमणको खाँचो भने देखिन्छ ।