काठमाडौं । इलाममा बैशाख १५ का लागि तय उपचुनावमा शनिवार मनोनयन हुँदैछ । उम्मेदवारी मनोनयनअघि सत्ता समिकरणले चुनावी गठबन्धन गर्लान् ? चासोमा यो विषय देखिन्छ ।
दलहरुले उम्मेदवार सिफारिस गरेपनि अब उम्मेदवारहरु एक्लै चुनावी मैदानमा होमिएलान् वा गठबन्धन गर्लान् भन्ने प्रश्नकाबीच इलाम २ मा एमाले–कांग्रेसबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
इलामको उपचुनाव बझाङको भन्दा भिन्न स्थितिमा छ । इलाममा प्रतिनिधिसभामा एक सिट थप्ने मात्रै नभई पार्टीहरुको लोकप्रियता नाप्ने विषय समेत बनाइएको छ ।
इलाममा दलका शीर्ष नेताहरु नै पुगेर चुनावी अभियानलाई उद्घाटन गर्नेदेखि उम्मेदवार घोषणालाई पनि महत्व दिइरहेका छन् ।
यस्तोमा के इलाममा चुनावी तालमेलमा लागि दलहरु आपसमा मिल्ने बाटो खोज्लान ? चासो बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मिोलन लिम्बुलाई उम्मेदवार बनाएर चुनावी प्रचार–प्रसार तीब्र बनाइरहेको बेला एमाले–कांग्रेस पनि चुनावी मैदानमा होमिएका छन् ।
रास्वपाले निराशाको मतलाई सम्पत्तिको रुपमा बदल्ने अठोटसहित चुनावी मैदानमा होमिएको छ भने एमाले–कांग्रेस गएको निर्वाचनको अंकगणितलाई हिसाब मिलान गर्दै हिडिरहेका छन् । तर, पहिलोको निर्वाचनकै हाराहारीको मत ती दलहरुले प्राप्त गर्लान ? शंका भने छ ।
इलाममा दलहरुले चुनावी गतिविधि केन्द्रिकृत गरेको बेला एमाले–कांग्रेस भने आमनेसामने हुने देखिएको छ। एमालेले हृदयघातका कारण ज्यान गुमाएका सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नेम्वाङसँग केहि मतान्तरले पराजित डम्बर खड्कालाई नै उम्मेदवार बनाउने भएको छ । तर, दुबै पार्टीमा उम्मेदवार चयनको विषयलाई लिएर विवाद र मतभेद भने देखिन्छ ।
सुहाङलाई उम्मेदवार बनाएपछि नेम्वाङ परिवारको झोला कहिलेसम्म बोक्ने भन्ने आवाज उठिरहेको छ भने, डम्बर खड्कालाई उम्मेदवार बनाउने विषयमा कामग्रेस इतर पक्ष नै विरोधमा छ ।
शनिवार मनोनयन हुने निर्वाचन आयोगको कार्यतालिका छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन हुनेछ भने त्यसपछि उम्मेदवारको नामावली सार्वजनिक लगायतको कार्यतालिका छ ।
यसरी अब दलहरुले इलाममा चुनावी तालमेल गर्लान ? अब मुख्य प्रश्न भने यहाँ देखिन्छ ।
कांग्रेसले एक्लै चुनाव लडने दाबी गर्दै आएको छ । यस्तै रास्वपाले पनि चुनावी तालमेल नगर्ने निर्णय गरिसकेको छ । अब एमाले माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी लगायतको विषय भने केहि फरक ढंगले अघि बढ्न सक्ने आंकलन गरिएको छ ।
नेकपा माओवादी केन्द्रले एमालेलाई सघाउने संकेत गरिरहेपनि बझाङमा एमालेले माओवादीलाई सगाउने देखिए मात्रै समस्या समाधानतर्फ जाने दाबी गरिन्छ । तर, समाजवादी मोर्चा संबद्ध दलहरुले सहकार्य गर्ने अर्को बाटो पनि खुला छ । तर, मुख्यतः एमाले–कांग्रेसबीच नै प्रतिष्पर्धा हुने बताइन्छ ।