News 24 Television
१७ सहरमा सेवा विस्तार गर्दै पठाओ, ‘राइडर’ बन्न चाहनेले आवेदन दिन सक्ने 

काठमाडौं । पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने तयरी गरेको छ । 

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले काठमाडौं बाहेक कोशीका नौ सहरहरु विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड र  भद्रपुरमा पनि सेवा विस्तार गर्ने भएको हो । त्यस्तै मधेसको वीरगन्ज र जनकपुरमा पनि सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यसैगरी, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगन्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा विस्तार गर्न लागेको हो । 

त्यस्तै, नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टरसिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागेको पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममानसिंह बस्न्यातले जानकारी दिएका छन्।

उनका अनुसार सेवा विस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भइसकेको छ । 

राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन सक्नेछन्। कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम पनि दिइनेछ । 

राइडर बन्न इच्छुकले पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् । राइडर बन्नेहरूले प्ले स्टोरबाट ‘पठाओ ड्राइभ’ एप डाउनलोड गर्नुपर्ने हुन्छ।

यसअघि पठाओले काठमाडौं र चितवनमा मात्रै सेवा दिँदै आएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update