
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय संस्कृति, सम्पदाको संरक्षण र प्रवर्ध्दनको लागि जोड दिएकी छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले आधुनिक प्रविधिसँगै स्थानीय संस्कृति र सम्पदाको विकासलाई पनि सँगसँगै लान आवश्यक रहेको बताएकी हुन् ।
‘हामीले आधुनिकतालाई पनि आत्मसात गर्दै हाम्रा ऐतिहासिक संस्कृति, सम्पदाको संरक्षण गर्नुपर्छ । हाम्रा संस्कृति सम्पदाको संरक्षणका लागि पुस्तान्तरण हुनु आवश्यक छ,’ डंगोलले भनिन्, ‘यसको लागि विज्ञान र प्रविधिको सहयोग लिनैपर्छ।’
सोही कार्यक्रम मार्फत उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिका २३ वडामा अवस्थित बहाः बहिलहरुको जानकारी लिन सकिने क्यूआर कोड प्रणालीको शुभारम्भ गरिन् ।
उपप्रमुख डंगोलले क्यूआर कोड शुभारम्भ भएसँगै पुर्खाले बनाएको सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्न सहज भएको र यसको अध्ययन अनुसन्धानले पनि व्यापकता पाउने विश्वास बिस्वास गरेकी छन् ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै कामपा २३ वडाका वडाध्यक्ष मचाराजा महर्जनले स्थानीय सम्पदा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने परिकल्पनासहित यस प्रणालीको विकास गरिएको जानकारी दिएका थिए ।