काठमाडौं । बारम्बार गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएको नेपाली काँग्रेसले रास्वपाका थप मन्त्री तथा नेतहरुमाथि पनि गम्भीर आरोपहरु लगाउन थालेको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई मुछ्ने काँग्रेसको योजना पुरानै भइसक्यो ।
संसदमा यही विषयमाथि छानविन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने काँग्रेसको ‘बटमलाइन’ कायमै राखेको छ ।
साथै काँग्रेस रास्वपाविरुद्ध खनिन यतिमा मात्रै रोकिएको छैन । सास्वपाकै थप मन्त्री र केन्द्रीयस्तरकै नेताहरुमाथि पनि सहकारी प्रकरणको विषयलाई लिएर काँग्रेस थप आरोप थोपर्न लागी परिरहेको हो ।
मंगलबारकै संसद बैठकमा काँग्रेसले रवि बाहेक रास्वपा उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पनि सहकारी ठगको रुपमा चित्रण गर्न खोज्यो।
काँग्रेसले रास्वपाका सभापति एवं गृहमन्त्री रवि र नेताहरुलाई आरोप मात्रै लगाइरहेको छैन । उनीहरुमाथि अनुसन्धान गर्न छानविन समिति बनाउनु पर्ने पनि सर्त अघि सारिरहेको छ ।
यदी यो नभए आगामी संसद बैठक नै अबरुद्ध गर्ने चेतावनी पनि दिन थालेको छ । यसअघि काँग्रेसले एक पटक संसद बैठक अबरुद्ध गरेको थियो ।
निरन्तर संसदमा गृहमन्त्रीविरुद्ध आवाज उठाइरहेको काँग्रेसले मंगलबारको बैठकमा पनि रास्वपाका थप नेताहरुको नाम लिँदै सहकारी ठगी प्रकरण्मा मुछेको हो । तर उता गृहमन्त्री एवं सभापति रवि लामिछानेले भने यसविषयमा समाचार मात्रै आएकाले त्यसलाई गम्भीर रुपमा लिन आवश्यक नभएको दावी गरिरहेका छन् ।
उता नेपाली काँग्रेसले भने संसदमा गृहमन्त्रीलाई बोल्न दिएको छैन । मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको थियो ।
यस्तो अवस्थामा रविले आफूलाई संसदबाटै जवाफ दिन पाउनुपर्ने बताउँदै आइरहेका छन् ।
काँग्रेसको यो गतिविधिलाई लिएर कतिपयले इलामको उपनिर्वाचन लक्षित र गृहमन्त्रीले भ्रष्ट्राचारमा मुछिएका आफ्ना नेताहरु पक्राउ पर्ने डरले यस्तो व्यवहार गरिरहेको टिप्पणी गर्न थालेका छन् ।
त्यस्तै काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा सहित अन्य विभिन्न नेताहरु भ्रष्ट्राचार मुद्धामा पर्नसक्ने कारणले काँग्रेसले रविविरुद्ध लगातार घेराबन्दी गरिरहेको जनस्तरबाट बताइन थालिएको छ ।
यसैबीच बुधबारको संसद बैठकमा पनि नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणका मुख्य नाइके गितेन्द्रबाबु राई अर्थात जिबी राई गृहमन्त्री रविकै संरक्षणका रहेको अझ गम्भीर आरोप लगायो ।
यसरी गृहमन्त्री रविमाथि नेपाली काँग्रेसले एकोहोरो रुपमा खेदो खनिरहेको छ । काँग्रेसको यो व्यवहारले आम नागरिकहरुले समेत आश्चार्य व्यक्त गरिरहेका छन् ।
संसदमा जवाफ दिन पनि बन्देज गर्दै एकोहोरो आरोप मात्रै लगाइराख्दा काँग्रेसले संसदमा आफ्नो साखसमेत गुमाइरहेको टिप्पणी हुन थालेको छ ।
प्रतिपक्षीबाट निरन्तर आलोचना र थप नेताहरुलाई पनि सहकारी प्रकरणमा जोडिएपछि रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने भने थप अफ्ठ्यारोमा पर्ने स्थिति बनिरहेको छ ।