News 24 Television
समाजवादमा चर्को बहस, कसले के भने ? 

काठमाडौँ । संविधानले नै समाजवाद उन्मुख व्यवस्था भनिरहेको बेला समाजवादी मोर्चाले समाजवादबारे अन्तरक्रिया गर्दै नेपाली विशेषताको समाजवादबारे चर्चा गरेको छ । समाजवाद र समाजवादी यात्रा तय गर्न के कस्ता चुनौति छन र समाजवादमा जाने आधारहरु के हुन सक्छन भन्ने विषयमा बहस भएको छ । तर, समाजवादका आधार तयार गर्ने विषयमा विभिन्न प्रसंग भने उठेका छन् । 

नेपाल गम्भीर कानूनी र आर्थिक संकटमा छ । नेपालले संविधानमै समाजवादको विषय उठान गरे पनि के यस्तो स्थितिले समाजवाद आउला ? प्रश्न सोध्न थालिएको छ । 

संविधानले नै समाजवादको कल्पना गरे पनि यो विषयमा दलहरुले खुलेर बहस छलफल गर्ने गरेको खास देखिन्न । संविधान पक्षधर सबै दल र नेताहरुले यो विषयलाई बहसमा ल्याउनुपर्ने भएपनि कस्तो समाजवादको कल्पना गरिएको हो भन्ने विषयमा टुंगो नलाग्दा यो विषय संशयमै रहेको देखिन्छ । यस्तोमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मोर्चा संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले मुलुकमा देखिएका समस्यालाई नेपाली विशेषताको समाजवादबाट मात्रै पार लगाउन सक्ने दाबी गरेका छन् । 

नेपाली विशेषताको समाजवादबारे चर्चा चलिरहेको बेला जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने अहिलेको संविधान र व्यवस्था नै समाजवादको बाधक रहेको जिकिर गरेका छन् । 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादमा जानका लागि सडक संघर्षलाई माध्यम बनाउनुपर्ने दाबी गर्दै आइरहेका छन् । अन्तक्रियामा बोल्दै उनले आफ्नो भनाईलाई पुनः दोहो¥याए । 

समाजवादको चर्चा गर्न आयोजना गरिएको कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव नेपाल भने प्रत्यक्ष कार्यकारीमा जान नहुने तर्क राखिरहेका छन् । पैसा हुनेले चुनाव जित्ने दाबी गरेका माधवले समाजवाद उन्मुख संविधान र बाटोलाई यसले रोक्ने तर्क राखिरहेका छन् ।

नेपाललाई समाजवादमा लैजान विश्वमै सहज वातावरण रहेको दाबी गरेका प्रधानमन्त्री प्रचण्डले वामपन्थी एकतालाई जोड दिनुपर्ने र समाजवाद सडक र जनतासँग जोडिए मात्रै आउने विश्वास समेत गरे । संविधान समाजवादतर्फ अग्रसर हुँदै जाने कामलाई तीब्रता दिन जतिसक्यो प्रगतिशिल धारा समात्दै आपसी एकतामा जोड दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । 

अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा समाजवाद पक्षधरहरुले समेत मुलुक अप्ठ्यारो स्थितिमा रहेको भन्दै वामपन्थी सहकार्यको प्रस्ताव गरेका छन् । नेपाललाई समाजवादमा लैजान संविधानको कार्यान्वयन र जनतालाई अनुभूत हुने गरि सुशासन र भ्रष्टाचार नियन्त्रणमा समेत निर्मम बन्नुपर्नेमा समाजवादका पक्षधरहरुको जोड छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update