News 24 Television
सत्ता–शक्ति नपाउनुको छटपटी गगन थापामा, माओवादीपछि रास्वपाको खोइरो खन्दै

काठमाडौँ । कुनै समय लोकप्रिय युवानेताको छवि बनाएका गगन थापा उमेरको चढाइसँगै लोकप्रियता घटाइमा अगाडि देखिएका छन् । बोल्नमा खरो, हक्की, निडर र तर्कशील मानिए पनि जुनसुकै कुरामा नियोजित प्रहार गर्ने र केवल सस्तो लोकप्रियताका लागि बोल्ने गर्नाले गगन थापा बेलाबेला विवादमा समेत पर्ने गरेका छन् । यसले उनको साख समेत दिनानुदिन गिर्दै गएको विश्लेषण भइरहेका छन् । 

काँग्रेस महामन्त्री समेत रहेका थापा काँग्रेसभित्रका प्रमुख प्रतिपक्षीजस्तो लाग्छन् । पार्टीका अधिकांश बैठक तथा निर्णयमा खरो रुपले प्रस्तुत हुने थापा अघिल्लो काँग्रेस–माओवादी सत्ता गठबन्धनको समेत खुलेरै विरोधमा उत्रिए । आफ्नै पार्टी सरकारमा हुँदा पनि उनले सरकारको खोइरो खन्न छाडेनन् । आफ्नै पार्टीका मन्त्रीहरुविरुद्ध समेत उनले सार्वजनिक मञ्चहरुमै नकारात्मक अभिव्यक्ति दिँदै हिँडे । दाग लागेका र अख्तियारले डामेका मन्त्री भन्दै उनीहरुलाई घर पठाउनुपर्ने अभिव्यक्ति दिए ।

यतिसम्म त ठीकै थियो । तर, जब महामन्त्री थापाले गत फागुनमा सम्पन्न पार्टीको महासमिति बैठकमा आगामी चुनावमा काँग्रेसले कसैसँग गठबन्धन नगर्ने आशयसहितको सांगठनिक प्रतिवेदन पारित गराए, तब यसको झिल्कोले हुँदाखाँदाको सत्ता गठबन्धन सखाप भयो । उसै पनि माओवादीसँगको गठबन्धन नरुचाइरहेका थापा लगायत अधिकांश दोस्रो पुस्ताका काँग्रेसी नेताहरुलाई उक्त घटनापछि राहत मिलेको होला । तर यसको असरस्वरुप काँग्रेसले ठूलै क्षति बेहोरेको छ । 

केन्द्रमा सत्ताच्युत भएको काँग्रेस प्रदेशहरुमा समेत विस्तारै पाखा लाग्दै छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धनलाई लात हान्नुका कारणमा काँग्रेसभित्रकै विरोधी गतिविधि मुख्य रहेको बताएका थिए । काँग्रेसको उक्त महासमिति बैठकबाट पारित गठबन्धन विरोधी तथा माओवादी विरोधी प्रतिवेदनहरुकै कारण  कांग्रेस कांग्रेस प्रतिपक्षमा पुग्ने अवस्था आएपछि गठबन्धन र माओवादीलाई हेर्ने नयाँ दृष्टिकोणसहित प्रतिवेदन परिमार्जन गरेर मात्र अनुमोदन गर्ने मत कांग्रेसभित्र बलियो बनेको देखिन्छ ।

अहिले संघीय संसदमा प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले माओवादीलाई छाडेर रास्वपालाई निशाना बनाइरहेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगीमा जोडिएको भन्दै उनको राजीनामा माग्ने तथा निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानमा कांग्रेस छ । संसद र संसदबाहिर जहाँ पनि रास्वपाविरुद्ध गगन थापा नै चर्को रुपमा प्रस्तुत भइरहेका देखिन्छन् । 

चैत ५ गते संसदमा बोल्दै महामन्त्री थापाले तत्कालीन प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गर्दै उठाएको प्रश्न जायज रहेको बताए । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम पनि मुछिएकाले उनले सो प्रकरणका पीडितलाई न्याय दिन नसक्ने भन्दै गृहमन्त्रीको राजीनामा  पनि थापाले माग गरे । त्यसपछि कांग्रेस सांसदहरुले अहिलेसम्म लगातार गृहमन्त्रीको राजीनामा र छानबिन समितिको विषयलाई संसदीय हठका रुपमा प्रयोग गर्दै आएका छन् ।

तर सुन तस्करीको विषय र अहिले गृहमन्त्रीमाथि लागेको ठाडो आरोपको विषय नै फरक हो भन्ने कुरा न गगन थापाले हेक्का राखेका छन्, न कांग्रेसी जनले । उनीहरुलाई जसरी पनि रास्वपा सभापति एवं गृहमन्त्रीलाई ढाल्नु छ । पछिल्लो समय महामन्त्री थापाका कुतर्क र बालहठका कारण उनलाई आदर्श मान्नेहरु समेत बिच्किएका छन् । 

ठूलो युवा जमातको समर्थन र आशा भरोसा रहेका रवि लामिछानेको विरुद्धमा एकोहोरो लागेपछि गगन थापाका समर्थक घट्दै गएको पाइएको छ । यस सम्बन्धमा सोमबार थापाले एक टिभी अन्तर्वार्तामा आफ्ना समर्थक, भ्युज, लाइक–कमेन्ट घट्छन् कि भनी डराएर नबस्ने र नेताहरूलाई प्रश्न गर्न नछाड्ने बताएका थिए । गाली खाइन्छ भनेर आफूले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउन नछोड्ने उनको भनाइ थियो । 

रवि लामिछाने मात्र हैन, कुनै बेला आफ्ना प्रिय पात्र रहेका डा. स्वर्णिम वाग्लेविरुद्ध समेत गगन थापाले पछिल्लो समय शब्दवाण प्रहार गर्दै आए । जब वाग्लेलाई कांग्रेसभित्र टिकट दिइएन, अवसर दिइएन, अनि पार्टी नै त्यागेर रास्वपामा गए, तब गगनले उनको पनि खोइरो खन्न थाले । तनहुँ– १ को उप निवर्पाचनमा वाग्ने उम्मेदवार बनेपछि थापा त्यहीँ पुगेर वाग्लेविरु खनिएका थिए । थापाले ‘घुम्दै घुम्दै आएको टुरिस्ट’ उम्मेदवार भनेर वाग्लेलाई हदै गिराएका थिए, तर अन्ततः उक्त निर्वाचनमा वाग्ले विजयी भए भने गगनले भोट मागेका कांग्रेस उम्मेदवार पराजित भए ।
 
अनुकूलता होस् वा प्रतिकूलता, परिस्थिति अनुसार खुला वा लाक्षणिक अभिव्यक्ति दिने वाक् कला भएका थोरै नेतामा गगन पनि पर्छन् । तर व्यक्ति छानीछानी नियोजित प्रहार गर्ने गर्नाले उनको लोकप्रियता छवि खस्कँदै गएको छ । आफूभन्दा पछि आएका युवा नेताहरु उपप्रधान एवं गृहमन्त्रीसम्म बनिसकेको तर आफूले सत्ता र शक्ति पाउन नसकेको कुण्ठा एवं छटपटी समेत उनीभित्र बढिरहेको उनका कतिपय अभिव्यक्तिबाट थाहा हुन्छ । 

अर्कोलाई गाली गरेर, गिराएर, अवरोध गरेर वा ढुंगामुढा हानेर मात्र नेता भइन्छ भन्ने भ्रम गगनजस्ता थुप्रै पुराना स्थापित पार्टीका नेता–कार्यकर्तामा देखिन्छ । तर व्यावहारिक कुटिलता, चातुर्य, जन पक्षधरता र आफ्नै पार्टीका निकम्मा नेतृत्वविरुद्ध विद्रोह गरेर परिस्थिति अनुसार अगाडि बढ्ने चेत र सामथ्र्य भने उनमा देखिन्न । आफूसमेत थुप्रै विवादमा पर्दै आएका थापा अरुमाथि प्रहार गर्न जति खप्पिस देखिन्छन्, समस्याको निकास दिनमा भने उति नै निकम्मा देखिन थालेका छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update