काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन् ।
सोमबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताए । उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे । अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै उनले सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए ।
१० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको जानकारी दिँदै उनले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध रहेको बताए ।
‘अदालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रुपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरुमा राम्रो दृष्टिकोणले मुद्दा निरुपण भएका छन्,’ उनले भने, ‘छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरु छैनन् । धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरु छन् । ति मुद्दाहरुलाई हामीले पक्षबाट न्युनिकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् । मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध छौँ, लागिरहेका छाैँ । अहिलेको भोलि नै हुनेकुरा होइन । सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेका छाैँ ।’
प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरुमा आवश्यक पर्ने न्यायाधीशहरुको व्यवस्थापन पनि बिस्तारै हुँदै जाने बताए ।