News 24 Television
रास्वपासँग त्रसित एमाले : खोज्यो प्रचण्डको साथ, एक्लै भीड्न गरेन आँट  ! (भिडियो)

काठमाडौं । पछिल्लो समय आम नागरिकले नयाँ नेतृत्व र नयाँ परिवर्तन खोजिरहेको स्पष्ट छ ।  पुराना दल र तीनका नेताहरुको प्रवित्तिहरुबाट चरम असन्तुष्ट जनताले निर्वाचनमार्फत परिवर्तनको संकेतसमेत दिइरहेका छन् । 

यसको आभाष पछिल्लो समय जनतास्तरबाट आइरहेका अभिव्यक्ति र दलका नेताहरुको अभिव्यक्तिहरुबाट समेत झल्किरहेका छन् । 

नेताहरुले देखाइरहेका व्यवहार र कार्यशैलीले पनि अब जनताले उही पुरानै शैलीलाई स्वीकार गर्न सक्दैनन भन्ने निष्कर्ष निकालिएको देखिन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यतिबेला इलाम – २ को उपनिर्वाचनलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु गरिरहेको छ । 

सोही अनुसार रास्वपाले स्थानीय युव मिलन लिम्बूलाई उम्मेदवरको रुपमा अघि सारेको छ । 

यो क्षेत्रका लागि एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवारीका रुपमा उठायो । र, उनीहरुले यतिबेला मतदाता तहमा तीव्र भेटघाट गर्न थालिसकेका छन् । 

काँग्रेसले यही मंगलबार सम्ममा उम्मेदवार चयन गर्ने तयारी गरिरहेको छ । यद्यपि काँग्रेसभित्र पुरानै वा नयाँ पात्रलाई उम्मेदवार बनाउने भन्ने विषयमा अन्योलता छ ।

पछिल्ला उपनिर्वाचनहरुमा प्रायजसो क्षेत्रहरुलाई आफ्नो किल्ला बनाएको रास्वपाले इलाममा सशक्त कार्यक्रमहरु थालिसकेको स्थिति छ । 

आइतबार मात्रै भव्य कार्यक्रम गर्दै मिलन लिम्बूलाई आधिकारिक उम्मेदवार घोषणा गर्यो । केन्द्रीय स्तरका आधा दर्जन बढी नेताहरु लिएर उम्मेदवारी घोषणा कार्यक्रममा पुगेका रास्वपा सभापति रवि लामिछानेले एमालेको हालसम्मका योगदानहरुलाई कदर मात्रै गर्न सकिने तर बाँकी दिनमा समर्थन गर्न नसकिने उद्घोष गरे । स्वच्छ प्रतिस्पर्धामार्फत रास्वपा उम्मेदवारलाई विजयी गराई एमालेलाई इलामबाट कसैगरी हराइ छाड्ने रविले संकेत गरेका छन् ।

हुन पनि पछिल्लो पटक ३ क्षेत्रमा भएका उपनिर्वाचनमध्ये २ ओटामा रास्वपाले जित निकालेको थियो । 

गतवर्ष तनहुँ १, चितवन २ र बारा २ मा भएको उपनिर्वाचनमध्ये रास्वपाले चितवन र तनहुँबाट जित निकालेको थियो । यसअर्थमा आगामी बैशाखको उपनिर्वाचनमा पनि इलममा विजयीको झण्डा फहराउने रास्वपाको दाउ छ । 

यही अवस्थामा विगतका निर्वाचनहरुमा कडा प्रतिस्पर्धा गर्दै आएको नेपाली काँग्रेसले यो क्षेत्रमा अझैसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । यद्यपि काँग्रेसले पनि निर्वाचनमा आफ्नो उम्मेदवारले नै जित निकाल्ने दावी भने गर्न छाडेको छैन । तर अहिलेसम्मको माहोल र मतदाताहरुको मनोविज्ञान हेर्दा रास्वपा र एमालेकै कडा प्रतिपर्धा हुने देखिन्छ । 

पछिल्लो समय युवा पुस्ताको ‘हाइ डिमाण्ड’ रहँदा एमाले र रास्वपाले यही मनोविज्ञानलाई अबलम्बन गरेका छन् । 
यद्यपि एमालेको लामै विरासत रहेको इलाम – २ मा रास्वपा भारी पर्ने निश्चितजस्तै छ । यो परिस्थिितिमा एमालेलाई रास्वपा चुनौतिको पहाड बनिरहेको देखिन्छ ।

यस्लाई राम्ररी बुझेका एमाले अध्यक्ष केपी ओली भने माओवादीको समर्थन माग्दै आँट भरोसा बटुल्दैछन् । 

ओलीले काँग्रेसलाई मुख्य प्रतिस्पर्धी ठानेपनि खासमा रास्वपासँग एमालेको डर देखिन्छ । 

पुराना दल र नेताहरुको कार्यशैलीबाट दिक्क भएका जनताहरुले अब यही अवस्थामा एमालेलाई मत आउन नसक्ने विषयप्रति ओली सचेत छन् ।

 यसअर्थमा ओलीले उपनिर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रकै साथ खिाजिरहेका हुन् । 

सरकारमै रहेको रास्वपाले एकलौटी उम्मेदवारी दिने भनेदेखि नै गठबन्धनमा समेत केही शंका उपशंका पैदा भएका थिए । तर यो अवस्थासम्म आइपुग्दा गठबन्धनभित्र खासगरी एमाले र रास्वपाकै मुख्य प्रतिस्पर्धा हुने स्स्थिति छ । 

जसका कारण एमालेलाई पनि माओवादीको सहयोग आवश्यक्ता खड्किएको हो । विगतमा सबै दल खनिदापनि एमालेले जित निकाल्ने यो क्षेत्रमा यस पटक भने रास्वपा एक्लै एमालेका लागि चुनौति बन्ने खतरा छ । 

पुरातन सोच र प्रवित्ति परित्याग गरेका जनताहरुले रास्वापाप्रति मतदानमार्फत भारी समर्थन पोख्ने निश्चितजस्तै छ ।  यो एमालेका लागि मात्रै नभइ पुराना र स्थापित भनिएका दलहरुका लागि यो चुनौतिको विषय हो । 

यही अवस्था रहिरहे आउँदो ८४ सालको निर्वाचनमा रास्वपाविरुद्ध सबै दलहरुले गठबनधन गर्न नपर्ला भन्न सकिने स्थिति छैन । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update