काठमाडौं । यही बैशाख १५ गते एक मात्रै प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त रहेको इलाम– २ मा उपनिर्वाचन हुन लागेको हो । यसका लागि सबै दलहरुले तीब्र तयारी थालिसकेका छन् ।
नेकपा एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी तथा जनमत पार्टीले पनि उम्मेदवार तय गरिसकेका छन् । त्यस्तै नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार टुंगो लगाउन सकेको छैनन् ।
निर्वाचन हुन एक महिनाभन्दा कम समय हुँदा नेकपा एमाले र रास्वपाले वृहत रुपमा चुनावी कार्यक्रमहरु थालिसकेका छन् । एमालेका लागि सबैभन्दा ठूलो प्रतिष्ठा र चुनौतिको निर्वाचन बनिरहेको इलाम – २ मा उम्मेदवार सुहाङ नेम्वाङ फिल्डमा पुगिसकेका छन् ।
उनी निर्वाचन क्षेत्रमा पुगेर कार्यकर्ता तथा मतदाताहरुसँग तीव्र भेटघाट गरिरहेका छन् । उता रास्वपाले पनि यस क्षेत्रलाई महत्वका साथ चुनावी प्रचार–प्रसार गरिरहेको छ । निर्वाचन मिति घोषणा भएलगत्तैबाट रास्वपाले इलामलाई प्रमुख केन्द्र बनाइरहेको हो ।
उसले यसअघि उपनिर्वाचनको तयारी स्वरुप ६ सांसदहरुलाई इलाम पठाएर वृहत कार्यक्रम गरेको थियो । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डर बनाएर रास्वपाले ६ पालिकाका लागि ६ सांसद खटाएको थियो ।
रास्वपाले सांसद सोबिता गौतमलाई इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झालाई माई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका र अशिम शाहलाई फाकफोकथुम खटाएको थियो । उपनिर्वाचनको अग्रिम तयारी गरेको रास्वपाले बिहीबार मात्रै उम्मेदवार टुंग्याएको थियो ।
मिलन लिम्बूलाई पार्टीको आधिकारिक उम्मेदवार घोषणा गर्न रास्वपा केन्द्रीय सभापति एवं गृहमन्त्री रवि लामिछानेसमेत शनिबार इलाम पुगेका छन् ।
उनी पार्टीका आधा दर्जन बढी नेताहरु लिएर इलाम पुगेका हुन् । इलाम नगरपालिका– ७ लाँकुरी चौताराको चोक बजारमा उभिएर रास्वपाले मिलन लिम्बूलाई आधिकारिक उम्मेदवार घोषणा गर्ने छ ।
उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने, उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह–प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसरी रास्वपाले यो उपनिर्वाचनलाई सशक्त रुपमा प्रचार–प्रसार गरिरहेको हो । रास्पाले विभिन्न चरणमा नेताहरुलाई निर्वाचन क्षेत्रमै खटाएर मतदाताहरुको मन जित्ने प्रयन्त गरेको देखिन्छ ।
त्यस्तै उम्मेदवार छनौटमा पनि रास्वपाले गम्भीर्यता प्रस्तुत गरेको थियो । खासगरी रास्वपाले स्थानीयलाई प्राथमिकता दिँदै उम्मेदवार छनौटमा गरेको देखिन्छ ।
रास्वपाका अलावा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले भने चुनावी कार्यक्रममा त्यति तीव्रता दिइसकेका छैनन् । यद्यपि यी दलहरुले पनि उम्मेदवार छनौटमा भने भौगोलिक र स्थानीय मनोविज्ञानलाई ख्याल गरेको देखिन्छ ।
विशेषगरी यो क्षेत्र आदिवासी जनजातीहरुकै बाहुल्यता रहेको हुनाले सोही समुदायबाट उम्मेदवार खोज्ने प्रयास दलहरुले गरेका छन् । यसर्थमा प्रायः सबै दलहरुले स्थानीय र जनजाति उम्मेदवारलाई नै प्राथमिकता दिएका हुन् ।
विशेषगरी कोशी प्रदेशमा पहिचानको नाममा ठूलै आन्दोलनहरु भइरहेकाले पनि सबै दलहरुले यो मनोविज्ञानलाई अबलम्बन गरेका हुन् । नेकपा एमालेले सुहाङ नेम्वाङ, रास्वपाले मिलन लिम्बू, जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ, नेकपा एसले जीतबहादुर राई तथा पहिचान पक्षधरको तर्फबाट डाकेन्द्र सिंङ थेगिम उम्मेदवार बनिसकेका छन् ।
हालसम्म उम्मेदवारी टुंगो लागिसकेका अधिकांश उम्मेदवारहरु आदीवासी जनजाति र, त्यसमा पनि लिम्बू समुदायका छन् । यी उम्मेदवारहरुमध्ये खासगरी यो उपनिर्वाचनमा एमालेका सुहाङ र रास्वपाका मिलनको कडा प्रतिस्पर्धा हुने आंकलन गरिँदै आएको छ ।
इलामबाट एमालेलाई आफ्नो वर्षौँको विरासत जोगाउनु छ, भने रास्वपालाई उपनिर्वाचनमा प्राप्त गर्दै आएको सफलतालाई निरन्तरता दिनु छ ।
हाल यी दुवै दल सरकारमा रहेको र रास्वपा अझ उपप्रधान तथा गृहसहितको नेतृत्वमा छ ।
रास्वपाले यो उपनिर्वाचनमा पार्टीको सबै शक्ति इलाममा केन्द्रीत गराइरहेको अवस्था छ । यो आवस्थामा रास्वपाले निर्वाचनमा कस्तो सफलता प्राप्त गर्छ, यो भने निर्वाचनको परिणामले नै देखाउनेछ ।