दमक । जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ ।
वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो ।
छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो ।
उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताए । लिम्बू परिवार केही वर्षदेखि रतुवा माई वृक्षरोपण आयोजनाको जङ्गल हातामा कटेरो बनाई बस्दै आएका थिए ।
वर्ष दिनअघि सोही बस्तीमा हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो ।
जिल्लाको शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् ।
यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छभने सात जना घाइते भएका डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले बताए ।