News 24 Television
सरकारमा जाँदा बागमतीमा हानेपाभित्र भद्रगोल, २ सिटको फुर्ति धेरै टिकेन ! 

मकवानपुर । विहीबार बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीका संसदीय नेता शैलेन्द्रमान बज्राचार्यले मन्त्री पदको सपथ ग्रहण गरे । 

अघिल्लो शुक्रबारमात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएका बज्राचार्यको त्यो निर्णय एक हप्ता पनि टिक्न सकेन । 
यि र यस्ता विषयले अहिले हाम्रो नेपाली पार्टीभित्र विवाद चरम बन्दै गएको छ ।

हाम्रो नपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य चैत्र १५ गते साँझ बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भए । 

नियुक्ती लगत्तै उनले  पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार सम्हाले । तर, मन्त्रीको पदमा आसिन बज्रचार्यको प्रतिक्रिया अचम्मको छ । 

अघिल्लो शुक्रबारमात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएका बज्राचार्यले फेरि सरकारमा आउनु पर्ने बाध्यता आइलागेको बताए । 

आफूमाथि दबाव परेको र सरकार चलाउनका लागि आफूले यस्तो निर्णय लिएको उनको भनाई छ । यता, आफ्ना सांसदले मन्त्रीको पदभार ग्रहण गरिसक्दा पार्टीका केन्द्रीय नेताहरु भने असन्तुष्ट देखिएका छन् । 

बागमती प्रदेशको राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्त राज घिमिरेले आफ्ना सांसदको राजनीतिक अपहरण भएकोसम्म बताए ।

तर, हाम्रो नेपाली पार्टीका नेताहरुले लगाएको आरोप गलत रहेको अन्य सत्ता साझेदार दलहरुको दाबी छ । 

प्रत्यक्ष निर्वाचित भएर सदनमा प्रवेश गरेको संसदीय नेता जस्तो मान्छेलाई अपहरण गर्दैमा मन्त्री बन्ने भन्ने प्रचार नै गलत भएको एमाले बागमतीका सचेतक मधूसुदन पौडेलको भनाइ छ । 

हाम्रो नेपाली पार्टीका सांसदहरुसँग बसेर धेरै चरण छलफल गरेपछि मात्रै मन्त्री नियुक्त गरिएको भन्दै पार्टीले पछिल्लो समय गलत दुष्प्रचार गरेकोे मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बताउँछन् । 


बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टीको दुई सिट छ । गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८ को (१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन् । 

हाम्रो नेपाली पार्टी प्रवक्ता डिल्लिश्वोर कार्कीका अनुसार समानुपातिक सांसद सरिता भने हाल पार्टीकै निर्णयमा अडिक छिन् । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update