News 24 Television
जिल्ला ट्राफिक प्रहरीको असुली धन्दा, पोष्टै पिछे उठाउन लगाउँछन अवैध रकम

झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिने गरेको पाइएको छ । 

प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । 

जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट अवैध रकम असुली गर्ने गरेका छन् । यस बिषयमा उनीहरूसँग बुझ्दा जिल्लाले रकम असुली गर्न दायित्व दिएका कारण आफुहरू मिलाएर रकम लिने गरेको स्विकार्छन ।

विशेष श्रोतका अनुसार जिल्ला ट्राफिक कार्यालय तथा हाकिमलाई काँकरभिट्टा ट्राफिक पोष्ट २५ हजार, चारआली ट्राफिक २० हजार, नयाँ बसपार्क विर्तामोड ट्राफिक १५ हजार, बुधबारे ट्राफिक ३० हजार, लक्ष्मीपुर ट्राफिक १५ हजार, सुरूङ्गा ट्राफिक २० हजार, केर्खा ट्राफिक १५ हजार, दमक ट्राफिक १५ हजार र गौरादह ट्राफिक पोष्टले  १५ हजार मासिक अवैध रकम असुलेर बुझाउनुपर्ने बुझिएको छ ।

ट्राफिक प्रहरीले प्रत्येक ओभर लोड एक सय टन बोक्ने ट्रकबाट मासिक ५ हजार रूपैयाँ असुल्ने गरेको छ  भने, जिल्ला भरका टिपरबाट पनि मासिक ५ हजार असुल्ने गरेको बुझिएको छ । 

त्यस्तै साना तथा ठुलठुला सवारी साधान, भारतीय नम्बर प्लेटका सवारीसाधनहरूबाट समेत विभिन्न बहानामा ट्राफिक प्रहरीले रकम असुल्ने गरेको तथ्य प्राप्त भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update