News 24 Television
चक्रव्यूह तोड्दै एमाले ‘मिसन ०८४’मा केन्द्रित, कति टिक्ला ओली–प्रचण्ड सहकार्य ?

काठमाडौँ । कहिले जुट्ने र कहिले फुट्ने गरेर जतिसुकै टुटफुट र गुटको सिकार भए पनि नेपाली दलहरू राष्ट्र र राष्ट्रियताका सवालमा भने एकजुट रहँदै आएका छन् । यस्तै दलहरुको स्वार्थ मिल्ने भएपछि पनि उनीहरु एकजुट हुने गर्छन् । पछिल्लो अप्रत्याशित राजनीतिक मोडले पनि अहिले वामपन्थी दलहरूको स्वार्थ जोडिएको चर्चा जारी छ ।

 विशेषतः नेकपा एमाले र माओवादी केन्द्रको सहकार्यबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चासो बढिरहेको छ । एमाले अचानक किन लचक भयो र माओवादी लगायत एमालेबाटै चोइटिएर गएको एकीकृत समाजवादी पार्टी समेतलाई एक ठाउँ ल्याउन सकियो भन्नेबारे अनेक कोणबाट विश्लेषण भइरहेका छन् । यसको एक कोण हो, आगामी आम निर्वाचन अर्थात् एमालेको मिसन ०८४ हो ।

एमालेले अत्यन्त चलाखीपूर्वक मिसन ०८४ अघि बढाइरहेको छ । माओवादी, एकीकृत समाजवादी लगायतसँग एकता वा गठबन्धन गरेर उक्त निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने उसको लक्ष रहेको बुझ्न गाह्रो छैन । अघिल्लो निर्वाचनमा अपेक्षित नतिजा हात पार्न नसकेको एमालेले बढ्दो चुनौतीका बीच लचकता अपनाएर माओवादीलाई आफ्नो पोल्टोमा पार्न सफल भएको छ । 

०७४ सालको आम निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा प्रतिनिधिसभामा झण्डै दुई तिहाइ बहुमत (१७५ सिट) हासिल भएको थियो । पछि यी दुई पार्टी मर्ज भएर बनेको तत्कालीन नेकपामा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षका कारण नेकपा विघटन मात्रै भएन, एमाले फुटाएर माधव नेपालले एकीकृत समाजवादी गठन गरे । त्यसबाट सृजित परिणाम र जनतामा बढेको निराशाका कारण गत साल ०७९ को आम निर्वाचनमा एमाले, माओवादी र एकीकृत समाजवादीले पाएको जम्मा सिट संख्या जोड्दा पनि बहुमत नै नपुग्ने अवस्था आयो । अर्थात् १७५ सिटको नेकपा छिन्नभिन्न भएपछि १२१ सिटमा खुम्चियो । 

सोही नेकपा कालीन साख फिराउनका लागि अहिले एमालेको अगुवाइमै वाम गठबन्धन जोडिएको छ । र, यसमा मूलतः एमालेको मिसन ०८४ को गोटी अहिले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड बनेको देखिन्छ ।

माओवादी–कांग्रेस गठबन्धनलाई ‘आपराधिक गठबन्धन’ भन्दै आएको एमालेले त्यो टुटाएर नयाँ सत्ता–समिकरण बनाउन सफल भएको एमालेकै नेताहरू बताइरहेका छन् । यो गठबन्धन बनाउनुको मुख्य उद्देश्य ०८४ सालको निर्वाचनमा पहिलो शक्ति बन्ने रहेको उनीहरूको दाबी छ । केही समयअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन– ०८४ पूरा गर्न सहयोगी हतियारका रुपमा यस गठबन्धनलाई प्रयोग गर्ने योजना रहेको बताएका थिए । 

एमालेको मिसन ०८४ लाई सहयोग पु¥याउन सरकार र गठबन्धनमा आबद्ध दलहरूलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको उनको भनाइ थियो । एमालेलाई सिध्याउने देशी–विदेशी खेल खत्तम पार्दै एमालेले नयाँ समीकरण बनाएको उनको दाबी थियो । 

एमालेकै महासचिव शंकर पोखरेलले पनि मिसन– ०८४ लाई सफल बनाउन र एमालेविरुद्धको चक्रव्यूह तोड्नका लागि यो गठबन्धन बनाइएको बताएका छन् । शनिबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशन उद्घाटन उनले मिसन– ०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समिकरणको यात्रामा एमाले गएको बताए । उनले यसअघिको सत्तारुढ गठबन्धनले एमालेमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य शुरु भएकाले पार्टीको मिसन– ०८४ लाई सफल हुने तर्क गरे । 

एमालेको अर्जुनदृष्टि मिसन ०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर भए पनि गठबन्धन जोगाउँदै अघि बढ्न तयार रहेको उनको भनाइ छ ।

पछिल्लो समय नेपालमा मात्र हैन विश्वभर नै वाम (कम्युनिस्ट) आन्दोलन कमजोर बनिरहेका बेला वामपन्थीहरू टुटेर हैन, जुटेर जानुपर्ने नेताहरूले महसुस गरेका छन् । मुलुकमा प्रतिगामी कदमहरू बलियोगरी देखा पर्न थालेको र नयाँ दलहरूको उदयले समेत चुनौती खडा गरेपछि विशेषतः ओली र प्रचण्डले यो कुरा रियलाइज गर्दै नयाँ समीकरण बनाएको बताइन्छ । उनीहरूले विगतका तिक्तता भुलेर पार्टी एकताको लक्ष्यसहित वाम गठबन्धन बनाएको बताइए पनि ओली–प्रचण्डको सहकार्य कतिन्जेल टिक्छ भन्ने संशय व्याप्त नै छ । 

नेपालको भूराजनीतिक अवस्था, नयाँ दलको आक्रामक उदय र नागरिकमा बढ्दो निराशा, स्वयं कम्युनिस्ट पार्टीहरूको क्षयीकरण जस्ता आवश्यकता र कारणले अहिले एमाले–माओवादी एकजुट भएका हुन् । माओवादीलाई समेत एक्लै चुनावमा जाने आँट नभएको र कांग्रेसले आगामी चुनावमा आफूसँग गठबन्धन नगर्ने देखिएपछि प्रचण्ड एमालेकै बाटोमा हिँड्न तयार भएको देखिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update