काठमाडौँ । तत्कालीन राजा महेन्द्रको निधन भएको दरबार दियालो बंगला सर्वसाधारणका लागि खुला हुने भएको छ । ऐतिहासिक महत्त्वको बंगला खुला हुने भएपछि यसबारे विभिन्न तथ्य समेत बाहिरिने क्रम शुरु भएको छ । चितवन पुगेको बेला अचानक हृदयघातबाट प्राण त्याग गरेका महेन्द्रले निर्माण गरेको बंगलामा सर्वसाधारणको प्रवेशले उत्साह थप्ने अपेक्षा गरिएको छ ।
तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारण नागरिकहरुका लागि खुला गरिने भएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार आगामी वैशाख १५ गतेभित्र सर्वसाधारणका लागि खुला गर्नेगरी भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको हो ।
सम्झौतासँगै अब यसको सञ्चालन रेखदेख भरतपुर महानगरपालिकाको जिम्मामा रहेको छ । अहिले यहाँ संरचना निर्माणदेखि विभिन्न कामहरु भइरहेका छन् । बाँकी कामहरुको जिम्मा पनि महानगरले नै लिएको छ ।
नेपाल ट्रष्टको संरक्षणमा रहेको दियालो बंगलालाई भरतपुर महानगरपालिकाले सञ्चान गर्ने गरि सम्झौता भएसँगै यसको संरक्षणमा थप सुधार हुने अपेक्षा नेपाल ट्रष्टको छ ।
दियालो बंगला परिसरमै एक कार्यक्रम आयोजना गर्दै सम्झौता गरिपछि अब यो दरबार सर्वसाधारणका लागि खुला रहने भएको हो । अहिले महानगरले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको छ । यसका लागि महानगरले विभिन्न ऐतिहासिक तथा महत्व बोकेका स्थानलाई सर्वसाधारणको पहुँचमा पुर्याउने काम गर्न थालेको मेयर रेणु दाहालको भनाई छ ।
दियालो बंगलाको ऐतिहासिकता
– तत्कालीन राजा महेन्द्रद्धारा २०२६ सालमा निर्माण
– निर्माणको उद्देश्य हिउँदमा चिसो छल्न राजाको परिवार चितवनमा बसाई सर्ने
– २०२८ माघ ३ गते दियालो बंगलामा बस्न आएका राजा महेन्द्रलाई माघ १६ गते राति ११ बजे हृदयघात
– ह्दयघातकै कारण दियालो बंगलामै निधन
– चिकित्सकद्धारा बिहान ४ बजे आसपासमा मृत घोषणा
– राजा महेन्द्र एक महिना बस्ने गरि चितवन आएका थिए भनिन्छ
– शीतकालीन दरबार भनेर चिनिने यो दरबारमा राजा विरेन्द्रद्धारा २०५७ सालमा जन्मोत्सव आयोजना
यसरी राजाहरुले प्रयोग गर्दै आएको दरबार गणतन्त्रपछि भने सरकारीकरण गरेर नेपाल ट्रष्टको कार्यालय मातहत राखिएको छ । यो दरबारमा ठूलो बैठक कक्ष र राजा महेन्द्र र विरेन्द्र सहित रानीहरुका तस्बिर समेत राखिएका छन् । पाँच बेडरुमदेखि राजपरिवारले प्रयोग गर्दै आएका सामान समेत रहेको बताइन्छ ।
दियालो बंगला ५२ बिघा जमिनमा फैलिएको छ । यसको सुरक्षा र व्यवस्थापन अहिले नेपाली सेनाले गर्दै आएको छ ।