News 24 Television
‘प्रचण्ड–ओली’को आ–आफ्नै रणनीति, तत्काल टुट्नसक्छ गठबन्धन  (भिडियो)

काठमाडौं । यतिबेला नेकपा (एमाले)सहित माओवादी केन्द्र, रास्वपा, जसपा तथा नेकपा एस लगायतका दलहरु सम्मेलित गठबन्धनको सरकार छ । 

संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर प्रधानमन्त्री प्रचण्डले हालको सत्ता समीकरण रोजेका थिए । तर नयाँ समीकरण बनेको एक महिना नपुग्दै सत्ता गठबन्धन भित्रै दलहरुबीच शक्ति सञ्चय र सन्तुलनको कसरत सतहमा आउन थालेको छ । 

काँग्रेससँगै गठबन्धन रहेका बेला निर्माण भएको समाजवादी मोर्चाले सक्रियता बढाउँदा सत्ता गठबन्धनमा शक्ति सञ्चय र सन्तुलनको अभ्यासहरु देखिन थालेका हुन् । 

काँग्रेससँगको गठबन्धनमा रहँदै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा गठन गरेका थिए । 

जसलाई प्रचण्डले सत्तामै रहेर काँग्रेससँग ‘डिल’ गर्ने हतियार खडा गरेको भन्दै बाहिरी टिप्पणी गरिँदै आएको थियो । उक्त मोर्चा बन्दा सबै दलका तर्फबाट आलोपालो नेतृत्व गर्ने भनिएको भनियो । र, सोही अनुरुप यसअघि नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले यसको नेतृत्व गरिसकेका छन् । 

यतिबेला समाजवादी मोर्चाको नेतृत्वमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ छन् । वर्तमान सत्ता समीकरण निर्माण भएपछि औपचारिक रुपमै चलायमान हुन थालेको यो मोर्चाले नेकपा एमालेलाई पनि समावेश गर्ने प्रयत्न गरेको थियो । तर नेकपा एमालेले समाजवादी मोर्चामा सामेल हुन अस्वीकार गरेको छ । बुधबार संयोजक विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगरे मोर्चामा आउन आग्रह गरे । 

त्यसपछि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वालुवाटारमा भेट भयो । उक्त छलफलमा पनि ओलीलाई प्रचण्डले मोर्चामा आउन आग्रह गरेका थिए । तर ओलीले मोर्चामा आबद्ध हुने चाहना देखाएनन् । 

प्रचण्डले पनि मोर्चामा आउनै पर्छ भन्ने अनिवार्याता प्रकट भने नगरेको भान ओलीको प्रतिक्रियाबाट झल्किन्छ । 

उता माओवादी केन्द्रले पनि समाजवादी मोर्चा अघिल्लो गठबन्धन हुँदा देखिकै भएकाले यसलाई पुनः सक्रिय बनाउँदा एमाले विच्केलाकी भन्ने त्रासले ओलीसँग पूर्वाग्रह राख्न खोजेको संकेत गरेको छ । स्मरण रहोस् एमाले वर्तमान सत्ता गठबन्धकै सबैभन्दा ठूलो दल हो । 

एमालेलाई पनि सहभागि गराउने स्वार्थ समाजवादी मोर्चालाई नभएको भने होइन । तर मोर्चा आबद्ध दलहरुलाई एमाले मोर्चामा आउछ भन्ने अपेक्षा चाही थिएन । त्यसैले एमालेसँग प्रस्ताव राखिनु एक औपचारिकताको विषय मात्रै भएको दलहरुको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ ।

संयोजक विप्लव र प्रधानमन्त्री प्रचण्डलेसमेत मोर्चामा आबद्ध गराउने विषयमा एमाले सँग औपचारिकताका लागि मात्रै छलफल गरेको यथार्थ हो । साथै ओलीले पनि तत्कालका लागि यसलाई अस्वीकार गरिदिएका छन्् । 

यही सवालमा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले गठन नभएको स्पष्ट पारेका छन् । एमालेले वामपन्थी दलहरुको संसदीय अंक गणितलाई नै गठजोड गरेर समाजवादी मोर्चामा आबद्ध हुन अस्वीकार गरिरहेको छ । 

यसलाई छल्न उसले मोर्चा गठन गर्नुभन्दा जनताबीच आशा जोगाउने गरीका योजनाहरु लिएर काम गर्नुपर्ने तर्क गर्दै आएको छ । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरण बनेकै दिन आफूहरु सत्तामा आएपनि ‘मिसन ८४’ अभियान नछोड्ने उद्घोष गरेका थिए । एमाले समाजवादी मोर्चामा सामेल हुनुभन्दा आगामी निर्वाचनमा बलियो हुने आधार प्रस्तुत गर्ने रणनीतिमा छ । 

उता समाजवादी मोर्चाका दलहरुको अभिव्यक्ति हेर्दा हाललाई तल्लो स्तरसम्मै एकअर्काबीच कार्यगत एकता गर्ने र भविष्यमा पार्टी एकता नै गर्ने तयारी गरिरहेको बुझिन्छ । 

तर एमाले भने तत्कालै अन्य कम्युनिष्ट दलहरुसँग एकता गरिहाल्ने मुडमा देखिँदैन । बरु ऊ आउँदा निर्वाचनमा आँफै बलियो बनेर सरकारको नेतृत्वका लागि सक्षम बन्ने प्रयत्न गरिरहेको छ । उता प्रचण्ड भने समाजवादी मोर्चामार्फत सत्तारुढ दलहरुसँग मोलमोलाई गर्ने अस्त्र रचिरहेको देखिन्छन् । 

त्यस्तै मोर्चा र वर्तमान सरकारमै सामेल दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले पनि आफूहरु एमालेले बोलाएर सरकारमा नआएको टिप्पणी गर्दै आइरहेका छन् । यी केही आधारहरुले पनि एमाले समाजवादी मोर्चामा आउने अवस्था छैन । 

जनाधार कम हुँदै गएका र साना दलहरु सम्मेलित समाजवादी मोर्चामार्फत शक्ति सञ्चय गर्ने प्रयन्तमा रहेका प्रचण्ड र ‘मिसन ८४’ को नारासहित निकट भविष्यमै ठूलै शक्तिसहित सरकारको नेतृत्व गर्ने आकांक्षा बोकेको एमालेबीच उचित तालमेल मिलेको देखिँदैन । हाल सत्ता गठबन्धनमै रहेपनि सरकारको स्वाद लिइरहने बाहेक उनीहरुबीच भविष्यमा कार्यगत एकता हुनसक्ने संकेतहरु देखिँदैनन् । 

बरु समाजवादी मोर्चाकै विषयबाट प्रचण्ड–ओलीबीच बेमेल पैदा हुनसक्ने खतराको संकेतहरु देखिन थालिसकेका छन् । त्यसकारण समाजवादी मोर्चा नै काँग्रेससँगको गठबन्धन टुटाए बनेकोे प्रचण्ड–ओलीबीचको नयाँ समीकरण भत्कने प्रारम्भिक विन्दू नबन्ला भन्ने अवस्था छैन ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update