काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पुर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् ।
जटिल स्वास्थ्य अवस्था लिएर प्रहरी हिरासतमा पु¥याइएका महरामाथि सुन तस्करी प्रकरणमा अनुसन्धान चलिरहेको छ । तर, महरालाई पक्राउ गरेर उनीमाथि राजनीतिक स्टन्ट मात्रै त गरिएन ? प्रश्न भने गर्न थालिएको छ ।
माओवादीभित्र विजयकुमार गच्छदार भनेर चिनिएका पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा एकाएक पक्राउ परे ।
महरा रोल्पा जाँदै गर्दा बाटोबाटै पक्राउ परेपछि उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई समेत जानकारी गराए ।
उनी प्रहरीको नियन्त्रणमा परिसकेकाले अनुसन्धानलाई सघाउनुको विकल्प त थिएन, तर, उनले आफूलाई जुन शैलीमा पक्राउ गरियो त्यसमा भने चित्त दुखाए ।
लामो समय सत्ता राजनीतिमा प्रभाव पार्दै आएका महरा पछिल्लो समय विभिन्न प्रयोगको सिकार बन्दा शिथिल बनिरहेका छन् । महरा परिवारमा अहिले शान्तिको वातावरण पनि छैन् ।
कान्छा छोरा रेशम महरा राहुल सुन प्रकरणमै पुर्पक्षका लागि थुनामा छन् । अर्का छोरा एटम वेपत्ता जस्तो बनिरहेका छन् ।
पत्नी गुमाएपछि पारिवारिक रुपमा पनि वियोगमा रहेका महरामाथि बलात्कार आरोप लागेपछि भने उनी बौरिनै सकेनन् ।
सुन प्रकरणमा शुरुदेखि नै आफ्नो कुनै संलग्नता नरहेको तर तस्करीमा संलग्न चिनियाँ नागरिकसँग फोन सम्वाद भएको विषयमा भने उनले स्वीकार गरिरहेका छन् ।
फलफूल व्यापारिको रुपमा चिनियाँ नागरिक चिनेको दाबी गर्ने महराले भन्सार प्रमुखलाई फोन सम्पर्क गरेको विषयमा पनि कानून अनुसार गर्न मिल्ने भए गर्दिनु भनेर चिनजानको आधारमा भनेको बताइरहेका छन् ।
यस्तोमा महरा पक्राउ परेपछि माओवादी केन्द्रले पनि उनलाई कारबाही गर्ने विषयमा छलफल गरेपनि निर्णय भने गर्नै सकेन ।
माओवादी अध्यक्ष प्रचण्डले बालुवाटारबाटै महरालाई फोन गरेर राजीनामा दिने कि कारबाही गरौं भन्दै फोन समेत गरेको बताइन्छ । यस्तोमा महराले सोचेर जवाफ दिने बताएपछि उनीहरुको खास सम्पर्क हुन सकेको देखिन्न । तर, यता नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भने महराको पक्राउप्रति व्यङ्ग्य कस्छन् ।
बाबुरामले शंका गरेजस्तै सर्वसाधारणमा पनि शंका बढेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा आफ्ना पराई केहि नभनि कारबाहि गर्ने काममा सरकार अघि बढेको भन्दै निष्पक्षता पुष्टी गर्ने प्रयास समेत गरेको देखिन्छ ।
महराले फोन सम्पर्क गरेकोबाहेकका कुनै बलिया प्रमाण प्रहरीसँग नभएको बताइन्छ । यस्तोमा सरकारी वकिलको कार्यालयले ७ दिन हिरासत राख्न अनुमति मागेपनि अदालतले ४ दिनमात्रै स्वीकृति दिएको थियो ।
त्यसपछि प्रहरीले उनको स्वास्थ्य नै कमजोर भएको र विभिन्न प्रकारका औषधि सेवन समेत गर्ने हुनाले उनलाई हाजिरी जमानतमा छाड्ने निर्णय गरिएको बताइन्छ ।
यस्ता विभिन्न तथ्यका कारण पनि महरामाथि राजनीतिक प्रयोग गर्न त खोजिएन भन्ने आशंका कायम देखिन्छ । तर, निष्पक्ष अनुसन्धान र कानूनको पालनामा भने धेरैले चासो देखाइरहेका छन् ।