News 24 Television
महरा अस्पतालबाटै धाउँदैछन् अदालत (भिडियो)

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम जोडिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार कपिलवस्तुबाट पक्राउ परे । सुन तस्करी सम्बन्धि छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महरालाई पनि अनुसन्धान गरिनुपर्ने औँल्याइएको थियो । 

सोही प्रतिवेदनका आधारमा महरालाई प्रहरीले सोमबार भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परे लगत्तै उनलाई कपिलवस्तुबाट काठमाडौ ल्याएर केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबीमा) बुझाइयो । 

सोही दिन सीआइबीले महरालाई हिरासतमा राख्न अदालतमा अनुमति लिने प्रयास गरेको थियो । तर महरा एकाएक विरामी परे । उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अदालतलाई बयान दिएका थिए । 

त्यसपछि जिल्ला अदालत काठमाडौंले महरालाई अस्पताल भर्ना गर्न प्रहरीलाई आदेश दियो । पूर्वसभामुख समेत रहेका महरालाई अहिले नर्भिक अस्पतालमै भर्न गरेर वयानमा गराइँदै आएको छ । 

के भएको छ महरालाई ?

हुनत विगतमा पनि अपराधिक घटनामा पक्राउ परेका आरोपीहरुसमेत विभिन्न बाहानामा अस्पताल भर्ना हुने गरेका थिए । तर महराले भने अदालतसामु आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको वयान दिए । त्यसपछि महरालाई अस्पतालमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । 

महराले आफूलाई घाँटीको क्यान्सर, मस्तिष्क र प्रोस्टेटसम्बन्धी समस्या रहेको र सोही अनुसारका ८ प्रकारका औषधिहरु खाने गरेको उल्लेख गरेका थिए । 

वयानकै आधारमा अदालतले महरालाई अस्पतालमा बस्न अनुमति दिएकोे (सीआइबीले) जनाएको छ । महराले आफूलाई क्यान्सर भएको उल्लेख गरेपनि यसको औपचारिक पुष्टि गर्ने प्रमाण भने पेस गरे वा गरेनन, त्यो भने खुलाइएको छैन । यद्यपि महराले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा नबसेर अस्पताल बसेको भन्दै चौतर्फी आलोचना खोपिरहेका छन् ।

महरा जोडिएको प्रकरण

गएको साउनमा ब्रेक ‘सु’मार्फत लुकाएर ल्याइएको ६१ किलो सुन प्रहरीले बरामद गरेको थियो । त्यसअघि २०७९ साल पुसमा पनि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुन बरामद भयो । सो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकले वयान दिने क्रममा  माओवादी उपाध्यक्ष महराको पनि नाम जोडेका थिए । 

यही प्रकरणबाट महरा सुन तस्करीमा संलग्न रहेको आशंका गरिएको थियो । महराका छोरा राहुल पनि यही प्रकरणमा पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भेप प्रकरणमा राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेकोबारे अनुसन्धान गरेको थियो । 

सुन प्रकरणमै  महरालाई प्रहरीले यसअघि पनि वयान लिएको थियो । तर त्यो बेला उनलाई सामान्य वयन लिएर कारवाही अघि बढाउनु नपर्ने भन्दै प्रहरीले छाड्यो । तर अहिले नयाँ राजनीति समीकरण बनेसँगै गृहमन्त्रीको जिम्मवारीमा रवि लामिछाने आएका छन् । 

रविले गृहमन्त्री बने लगत्तै महरालाई पक्राउ गरि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । 

महरामाथि बयान जारी 

महरामाथि अनुसन्धान गर्न सोमबार अदालतले ४ दिनको समय दिएको थियो । उक्त समय अवधि आज सकिएको छ । तर यो अवधिमा वयन नसकिएपछि सीआइबीले अदालतसामु म्याद थपका लागि अनुमति माग्ने तयारी गरेको छ । बुधबारदेखि सरकारी वकिलसमक्ष महराले बयान दिइरहेका छन् । 

महरा बुधबार सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित भएका थिए ।  उनी अस्वस्थताकै कारण बयान सकेर पुनः नर्भिक अस्पतालमै भर्ना हुन पुगेका छन् । महरा केही वर्ष अघि मात्रै सभामुख रहेकै बेला बलात्कार आरोपमा पक्राउ परेका थिए । यद्यपि उनले सो मुद्दामा भने सफाइ पाइसकेका छन् । 

हालको सुन तस्करी प्ररणमा महरामाथि प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको छ । 

कतिपयले हाल माओवादी केन्द्र नेतृत्वकै सरकार रहेकाले सरकारको प्रभावमा अदालतले महरालाई दोषी करार नगरी छुटाउनसक्ने आशंका पनि गर्दै आएका छन् । 

तर सरकारले भने कुनै पनि काण्डका दोषीलाई आफ्नो र अर्काको नभनी कानूनी कारवाही गर्नेे दावी गर्दै आएको छ । सोही अनुरुप माओवादी कै उपाध्यक्ष महरा अहिले प्रहरी नियन्त्रणमा छन् । 

हाल यो प्रकरण अदालत पुगिसकेको छ । वयान र प्रमाणले सुन तस्करी प्रकरणमा महराको के कति आबद्धता पुष्टि गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update