News 24 Television
सत्तामा कांग्रेसको च्याखे दाउ, गठबन्धन भत्किनुमा दोषी को ?

काठमाडौं । सत्ता विमुख बनेको नेपाली कांग्रेस छटपटीसहितको आन्तरिक मिलापको खोजीमा देखिन्छ । तर, सत्ता गठबन्धनबाट हात धुनुपरेपछि कांग्रेस नेतृत्वमाथि हुनसक्ने प्रहारलाई कसरी व्यवस्थापन गरिएला ? के कांग्रेसले थापेको जालमा सत्ताको गठजोड पर्ला त ? के छन् सम्भावना ? 

प्रधानमन्त्री प्रचण्डले सत्तामा उलटफेर गरेपछि सत्तामा आउँदा कांग्रेस जति खुशी सायदै कोही दलहरु भए होलान् । कांग्रेसले सत्ता गठबन्धनमा छिर्न पाएपछि पोखेको खुशीको सीमा धेरै लामो समय भने टिक्न सकेन् । 

अहिले गठबन्धन फेरिनुको कारण प्रधानमन्त्री प्रचण्डलाई मात्रै देखाएर गर्न थालिएको विरोधको अर्थ विभिन्न कोणबाट खोज्न थालिएको  छ । तर, कांग्रेसले अझै पनि सत्तामा फर्किने दाउ जारी राखेको छ । 

कांग्रेसले प्रदेश सरकारमा अड्को थापेर बसिरहेको छ । सुदूरपश्चिम, गण्डकी र कोशीमा कांग्रेसले सत्ता यात्रालाई लम्ब्याउन सकिन्छ की भन्ने ध्यानबाट राखेकै छ । 

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक विवाद बढ्ने गरि कांग्रेसले भएभरका सांसदलाई मन्त्री पद बाँडिरहेको छ । 

यता, गण्डकीमा समेत स्थिति उस्तै देखिन्छ । कुनैबेला सत्ता गठबन्धनको तर्फबाट मन्त्री सिफारिस भएका दीपक मनाङे सत्ता संकटसँगै मालदार मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन् । 
मनाङले गण्डकीलाई मध्यावधीमा जान नदिने गरि कदम चालेको भन्दै सार्वजनिक समाचारमा भन्दा मनाङेको सत्ता मोह छताछुल्ल भएपनि गण्डकी सरकारले यसलाई प्रतिष्ठाको विषय बनाएको छ । 

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट माधव नेपालको पार्टीले मनाङेलाई मन्त्री बनाउ भन्दा नमान्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संकटसँगै मनाङेलाई मन्त्री बनाउन राजी बने । 

यतिमात्रै नभई माधव नेपाल र घनश्याम भुसालको दबाब आएकाले मन्त्री बनाएको दाबी समेत गरिरहेका छन् । 

यस्तै, स्थिति कोशीमा पनि छ । कोशीमा संविधानको अन्तिम विकल्प धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनेको स्थितिमा कांग्रेसले मध्यावधीको चेतावनी दिइरहेको छ । तर, सरकार गठन हुने स्थितिसम्म यस्तो हुनै नसक्ने सर्वोच्चको व्याख्यालाई कोशी सरकारले बटम लाइन बनाएर सत्तामै टाँसिने काम गरिरहेको छ । 

प्रदेश सरकारबाटै केन्द्रको सत्तामा फर्किएको कांग्रेस जस्तोसुकै तिकडम गरेर भएपनि प्रदेश सरकारमा अड्किने दाउ हेरिरहेको छ । यता संसदमा संसदीय मू्ल्य मान्यताको हुंकार भने पिटिरहेको छ । 

अझं, एमालेसँग मिल्न सक्ने स्थितिलाई केन्द्रमा राख्दै कांग्रेसले माओवादी केन्द्रलाई धम्कीपूर्ण भाषामा हामि मिले के हुन्छ भनिरहेको छ । यसले पनि कांग्रेसको सत्ता भोगको लालसा चर्किएको बुझ्न कठिन छैन् । 

गठबन्धन भत्किनुमा दोषी को ?

कांग्रेस नेतृत्व गठबन्धन भत्किनुमा आफ्ना पनि कमजोरी भयो कि भन्नेभन्दा पनि प्रधानमन्त्री प्रचण्डमै केन्द्रित गरिरहेको छ । 

प्रचण्डले सत्ता मोह छाड्न नसक्दा गठबन्धन भत्किएको कांग्रेसको दाबी विश्वास गर्ने आधार भने देखिन्न । के गठबन्धन भत्किनुमा प्रचण्ड मात्रे दोषी हुन त ? यसमा पनि आशंका छ ।

सत्ता गठबन्धन भत्किनुमा आन्तरिक बाह्य चलखेलका साथै कांग्रेसको आन्तरिक राजनीतिमा इतर पक्ष हाबी हुनु पनि हो । 

सत्ता गठबन्धनमा रहेर त्यसको मर्मविपरितका विषयमा प्रवेश गर्नु, माओवादी युद्धलाई अपराधिकरण गर्न खोज्नु, धोकाको राजनीति रोक्न देउवा असफल हुनु पनि कारण बनेका छन् । तर, यसमा उत्तिकै दोषी प्रचण्ड देखिन्छन् । 

कांग्रेस नेतृत्वको मिलाप

कांग्रेस नेतृत्व प्रचण्डलाई दोष देखाएर सत्ता गठबन्धन भत्किएको विषयमा उन्मुक्त हुने प्रयास गरिरहेको छ । तर, यो कति जायज ? कांग्रेसभित्रै आवाज उठ्न थालेका छन् । कांग्रेस नेतृत्वले समिक्षा गर्दै राजनीतिक नेतृत्वको दुरदर्शीता पुगेन कि भन्ने विषयमा भन्दा पनि प्रचण्डमा दोष थोपारेर ओभानो बन्न खोज्नु नै राजनीतिक बेइमानी हुने केहि नेताहरुले भन्न थालेका छन् । 

यस्तोमा गम्भीर समिक्षा हुने र कांग्रेस प्रवृ्तिलाई मिलाएर लैजान नसके अझैं धोका पाउनबाट रोक्न नसकिने हुनाले पनि यसको निराकरण र केन्द्रीय समितिमा प्रश्न उठ्नुपर्ने आवाज उठिरहेको छ ।  के कांग्रेस नेतृत्व यस्तो विषयमा बहस गर्न तयार होला ? यो भने चासोको विषय हो । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update