News 24 Television
विनोद चौधरीमाथि गृहमन्त्री रवि लामिछानेको दृष्टि, अनुसन्धान सुरु

काठमाडौं । नेपाली कांग्रेसका सासद समेत रहेका नेपालका डलर अर्बपति विनोद चौधरीमाथि नेपाल  प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको तथ्य खुलेको छ ।

विनोद चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै संसदमा दिएको प्रष्टिकरणको केहिदिनमै सीआईबीले यस्तो जानकारी सभामुखलाई गराएपछि कांग्रेस वृत्तमा थप हलचलको संकेत देखा परेको छ । 

नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गर्न भन्दै गृहमन्त्रालयले दिएको निर्देशनपछि सीआईबीले सक्रियता बढाएको छ । 

उनलाई सीआईबीले बोलाएर बयान लिने भनिए पनि यो विषय अहिलेसम्म सार्वजनिक हुनै सकेन् । सीआईबीले समेत गोप्य राखेको विनोद चौधरी प्रकरणमा सभामुखलाई पत्राचार गरिएको विषयपछि भने कांग्रेसले थप रोचक मोड सिर्जना गर्ने चर्चा हुन थालेको छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उनका भाई अरुण चौधरी पक्राउ परे पनि अदालतले दिन तोकेरै आदेश जारी गरेपछि उनी रिहा भइसकेका छन्  । 

यस्तोमा विनोदमाथि पनि अनुसन्धान हुन थालेको विषय सार्वजनिक भएपछि उनले संसदमै उभिएर आफ्नो संलग्नता नरहेको भन्दै प्रष्टीकरण दिने प्रयास गरेका थिए । 

बाँसबारी जग्गा हिनामिना प्रकरणमा विनोदको समेत सेयर देखिएपछि सीआईबीले अनुसन्धान गरिरहेको छ । 

यस्तो अनुसन्धान चलिरहेको जानकारी सीआईबीले जानकारी गराएपछि विभिन्न चर्चा हुन थालेका छन् । 

अझं, कतिपयले त गृहमन्त्री रवि लामिछानेले विनोदसहित कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवामाथि समेत कारबाहीको डण्डा चलाउन लागेको भन्दै विभिन्न आशंका उब्जाउन थालेका छन् । 

यसैको डरमा पसेको कांग्रेसले रविमाथि आक्रोश पोख्दै राजीनामा मागेको समेत भनिरहेको अवस्था छ । यसको स्वतन्त्र पुष्टी हुने आधार नदेखिए पनि रविलाई पनि सार्वजनिक रुपमै पीडितहरुले सहकारी ठगीमा मुछेर छानबिनको माग गरिरहेकाले स्वार्थको द्वन्द्ध मिलन बिन्दुमा गएर टुंगिने आशंका समेत उत्तिकै गरिएको छ । 

यस्तोमा अबको कदम कसरी अघि बढ्ला भन्ने आमचासो व्याप्त छ । 

यसअघि १८ माघमा सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update