News 24 Television
नैतिक दवावमा रवि, देलान् त राजीनामा ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेका कारण संसदमा बबण्डर मच्चिँदै आएको हप्तौँ भइसक्यो । रविलाई नै मुख्य तारो बनाउँदै नेपाली काँग्रेसले संसद र संसद बाहिर निरन्तर विरोधावास प्रकट गरिरहेको छ । जसले संसद अवरुद्ध त भयो नै, त्यसका अलावा विभिन्न कानून निर्माणमा समेत अवरोध भइरहेको छ । 

पोखरास्थित सुर्यदर्शन सहकारी संस्थाको ठगी प्रकरणसँग जोडेर रविमाथि पनि छानविन हुनुपर्ने नेपाली काँग्रेसको जोडदार माग छ । यही प्रकरणले रविविरुद्ध संसद र सडकमै चर्को आवाज उठिरहेको हो । 

सुर्यदर्शन शहकारीको ठगी प्रकरणमा रविलाई पीडितहरुले विपक्षी बनाएर उजुरी दिएको काँग्रेसको दावी  छ । यही अवस्थामै रविले स्वार्थ बाझिने गरि गृहमन्त्रालयको नियुक्ति लिएको भन्दै काँग्रेसले बारम्बार राजीनामा मागरिरहेको हो । 

मंगलबार संसदको सुन्य समयमै गृहमन्त्रीे रविको राजीनामा मागेको काँग्रेसले त्यसअघि पनि पटक पटक यही विषय उठान गर्दै आइरहेको थियो । 

नयाँ सत्ता समीकरण बनेपछि बसेका हरेक संसद बैठकहरुमा काँग्रेसले रवि केन्द्रीत टिप्पणी गर्दै आइरहेको छ । सुरुमा काँग्रेसले रविको नियुक्तिमाथि प्रधानमन्त्रीसमक्ष प्रश्न गरेको थियो । प्रश्नमाथि प्रधानमन्त्रीले काँग्रेसलाई संसदबाटै जवाफ दिने प्रयन्त पनि गरे । तर काँग्रेसले गृहमन्त्रीको नियुक्ति विषयलाई अझ गम्भीर मुद्धा बनाउँदै लग्यो । र, संसद नै अवरोध गर्नसम्म पुग्यो । 

प्रधानमन्त्रीले दिएको सुरुको जवाफलाई हल्का रुपमा लिएको काँग्रेसले सहकारी पीडितहरुले रविलाई नै किटान गरेर कास्कीमा उजुरी दिएको दावी गर्दै आएको छ । सो मुद्धाउपर अनुसन्धान भइरहेको भन्दै काँग्रेसले संसदमा रविको राजीनामा माग गरिरहेको हो ।

संसदमा प्रमुख प्रतिपक्षीबाटै बारम्बार चर्को दवाब आएपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार गृहमन्त्री रविबारे जवाफ दिए । जवाफमा प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा रवि दोषी नभएको र पीडितबाट पनि उनीविरुद्ध उजुरी नआएको दावी गरे । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले थप प्रष्टिकरण दिँदै पुरक उजुरी दिँदा बुझाउनु पर्ने थप प्रमाण पनि फेला नपरेकाले सहकारी प्रकरणमा रविको कुनै संलग्नता नरहेको दोहोर्याए । 

प्रमाणविनको प्रहरीले पुनः उजुरी दर्ता नगरेको र रविको नाममा प्रवाह भएको ऋणसमेत फच्र्युट भएकाले पनि प्रहरीले उनीविरुद्ध थप अनुसन्धान गर्नु नपरेको प्रधानमन्त्रीले ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री बाहेक रवि आँफै र रास्वपाका अन्य मन्त्रीहरुलेसमेत रविविरुद्ध कुनै प्रकारको उजुरी नपरेको दावी गर्दै आएका छन् । तर, आरोप लगाउने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने रविमाथि रकम अपचलनबारे उजुरी परेको ठोकुवा गर्दै आएको छ । 

उसले गृहमन्त्री रविको खातामा एक करोड रकम आएको प्रमाणसमेत भएको र पीडितहरुले उजुरी पनि दिएको दावी गरिरहेको छ । 

प्रधानमन्त्री प्रचण्डलाई नै गलत प्रतिवेदन दिइएर रविलाई बचाउन अनेकौँ प्रयास भइरहेको काँग्रेसको जिकिर छ ।

रविविरुद्ध लागेका आरोपहरुको प्रमाण रहेको भन्दै संसदमै छानविन समिति गठन गर्न पनि प्रधानमन्त्रीलाई काँग्रेसले चुनौति दियो ।  

मंगलबार प्रधानमन्त्रीले दिएको प्रष्टिकरणमा काँग्रेसले चित्त बुझाउन सकेन । यसरी श्रृङ्खलाबद्ध रुपमा आरोप र राजीनामाको आवाज उठेपछि गृहमन्त्री रवि भने अहिले संकटको भुमरीमा परेका छन् । 

संसद र सडकबाटै राजीनामाको चर्को आवाज उठेपछि उनी अहिले राजीनामाको नैतिक दवावमा समेत छन् । 

सभामुखले रुलिङ गरेको अवस्थामा आफूलाई राजीनामा माग्ने काँग्रेसलाई संसदमै पढाइदिने रविले प्रतिजवाफ दिँदै आएका छन् । तर उनले अहिलेसम्म संसदमा प्रष्टिकरण दिने अवसर भने पाएका छैनन् । यद्यपि सत्तारुढकै सबैन्दा ठूलो दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि रविलाई बचाउ गर्दै आइरहेका छन् । 

त्यस्तै प्रधानमन्त्रीसमेतले रविको पक्षमा डटेरै काँग्रेसलाई प्रतिजवाफ फर्काउँदै आइरहेका छन् । तर काँगैस अझै हल्लिएको छैन । 

बरु विगतमा आरोप लगेका मन्त्रीहरुले राजीनामा दिएको घटनाहरु सविस्तार उदाहारण गर्दै काँग्रेसले रविमाथि पद छाड्न अझ दवाव बढाइरहेको छ । 

यो अवस्थामा गृहमन्त्री रविले गृहमन्त्री पदबाट राजीनमा दिएर काँग्रेसले भनेजस्तै नैतिकता देखाउँछन्, वा अन्य विकल्पहरु खोज्छन्, त्यो भने हेर्न बाँकी छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update