News 24 Television
सहकारी ठगी प्रकरण : छानबिन समिति गठन गर्न काँग्रेस सांसदकाे माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गरेका छन् ।

    बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गरिन् । अप्ठयारो समयका लागि  भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उनले छानबिन समिति गठनको माग गरेकी हुन् । 

    “सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुपर्छ । सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ”, सांसद न्यौपानेले भनिन्, “सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । सो विवरणमा बचतकर्ताको करोडौँ रकम हिनामिना भएको देखिएको छ ।” सांसद न्यौपानले गरिबहरुले पेट काटेर पैसा बचत गरेका पैसा फिर्ता हुनुपर्नेमा माग गरिन् ।
 
        सांसद मानवीर राईले सोलुखुम्बुको सोताङ गाउँपालिका वडा ३ निवासी तुलामान राई यही चैत ६ गते हुँगा नदीमा पुल बनाउने क्रममा ढुङ्गा किचेर मृत्यु भएको भन्दै निजको परिवारजनलाई क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराए ।
 
    उनले गत फागुन २७ गते हराएका केशव राईको शव दुधकोशी नदीको किनारामा भेटिएको हुँदा मृत्युबारे अध्ययन गर्नेपर्ने र शान्ति सुरक्षालाई सरकारले विशेष ध्यान दिनुपर्ने माग गरे । उनका अनुसार लामो सयमदेखि सोताङ इलाका कार्यालयमा प्रशासकीय अधिकृत नहुँदा नागरिकता लिनेलगायतको काम हुन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update