काठमाडौं । ऋण प्रवाहमा आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका कर्मचारी तारेखमा छुटेका छन् । तर सेञ्चुरी बैंकबाटै भएको गलत रेमिट्यान्स कारोबारको सूचना बाहिरीएको बर्षौं बित्दा पनि यसमा टुंङ्गो भने अझै लागेको छैन ।
एमएम रेमिटमामार्फत् तत्कालिन सेन्चुरी बैंकमा पठाइएको करिब ७ करोड रुपैयाँ अझै भुक्तान नहुँदा सेन्चुरी बैंकलाई आफुमा गाभेको प्रभु बैंक अझै समस्यामा छ ।
धितो मुल्याङकन भन्दा बढी ऋण प्रवाह गरी आर्थिक अपचलन गरेको आरोपमा तत्कालिन सेञ्चुरी बैंकको दश कर्मचारी पक्राउ परि तारिखमा छुटेपनि सेञ्चुरी बैंकबाटै भएको करोडौंको रेमिट्यान्स्को बिषयमा भने अझै पनि प्रहरी अनुसन्धान हुन सकेको छैन ।
सन् २०१६ मा एमएम रेमिट्संग भएको गलत रेमिट्यान्स कारोबारमा बैंकले ५ लाख ८२ हजार २ सय ६७.९८ अमेरिकी डलर अर्थात अहिलेको मूल्य अनुसार ७ करोड ६८ लाख रुपैयाँ जति गुमाएको छ ।
उक्त रकम अझै पनि भुक्तानी नहुदाँ देशले बैदेशिक मुद्रा सन्चिती गुमाएको छ भने सेन्चुरी बैंकसंग मर्ज भएको प्रभु बैंक गलत कदमको भुक्तभोगी भइरहेको छ ।
आफूले मर्ज गरेर ल्याएको बैंकले रेमिट्यान्स कारोबारमा ठूलो परिमाणमा रकम हिनामिना गर्दा अहिले प्रभु बैंकलाई आरोपितबाट असुल गरी रकम मिलान गर्न सकस भइरहेको बैंकका अधिकारीहरु बताउछन् ।
यही काण्डमा प्रभु बैंकले पनि निकै दुख पाइसकेको छ । मुद्दा मामिलादेखि राष्ट्रबैंकको स्पष्टिकरणमा समेत प्रभु बैंक परिसकेको छ ।
रेमिट्यान्स अपचलन सम्वन्धी मुद्दा निकै लामो समय देखि आर्बिटेसनमा छ । न मुद्दाको बारेमा टुंगो लाग्छ, न टुंगो लाग्न नै दिईन्छ, न त पीडितले न्याय नैं पाएका छन् ।
घटनामा प्रत्यक्षरुपमा जोडिएको एमएम रेमिटले अपचलनमा सेञ्चुरी कर्मसियल बैंक, त्यसका तत्कालिन अध्यक्ष राजेश कुमार श्रेष्ठ सहितका व्यक्तिहरुको हात रहेको बताउँदै आएको छ ।
उक्त मुद्धा अहिलेसम्म पनि छिटो टुग्याउँ भन्दा श्रेष्ठ सहितका व्यक्तिहरु मुद्धा टुंगोमा पुरयाउन नचाएको र उनीहरुले मुद्धा धकेली रहेको आरोप एमएम रेमिट पक्षको छ ।
अपचलनका बिषयमा नेपाल राष्ट्र बैंक समेतले सेञ्चुरी बैंकको अनुगमन गर्दा बैंककै केही व्यक्तिहरुको हात रहेको र तिनै व्यक्तिहरु मार्फत रकम उठाउन बैंकलाई निर्देशन दिएको भए पनि अहिलेसम्म पनि रकम नउठाई आफुलाई थप पीडा दिएको आरोप एमएम रेमिट पक्षको छ ।
एमएम रेमिट पक्षले यसो भनिरहंदा सेञ्चुरी कर्मसियल बैंकका जिम्मेवार व्यक्तिहरु भने एमएम रेमिटसंगको मुद्धा आरबिटेसनमा रहेको भन्दै पन्छिदै आएको छ ।
सेञ्चुरी कर्मसियल बैंंकमा तत्कालिन अध्यक्ष राजेश कुमार श्रेष्ठको परिवारवाद हावी थियो ।
उनले अध्यक्ष हुदाँ आफ्नो ज्वाई नाता पर्ने रमेश कुमार श्रेष्ठलाई सेञ्चुरी बैंकबाट हटाएर बैंककै भगिनी संस्था सेञ्चुरी क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत बनाएर लगेका थिए ।
अध्यक्ष श्रेष्ठले रमेशलाई सेञ्चुरी क्यापिटलमा लानुको एउटै कारण भने उनलाई यो मुद्दामा जोगाउनु रहेको मुद्दाका जानाकारवालाहरु बताउँछन् ।
राजेशका ज्वाई रमेश कुमार श्रेष्ठ त्यस्तो पात्र हुन जसले सेञ्चुरी बैंकभित्र रहेर हंगकंगमा दर्ता रहेको ग्यालेक्सी रेमिटको आधिकारिक व्यक्तिको रुपमा समेत काम गर्थे ।
अहिले सेञ्चुरी बैंक र एमएम रेमिटको बिचमा भएको भुक्तानी बिवादमा पनि ग्यालेक्सीको रेमिटको निकै ठुलो हात रहेको एमएम रेमिट पक्षको आरोप छ भने अर्को तर्फ नेपाल राष्ट्र बैंकले पनि एमएम रेमिटसंगको रकम अपचलनमा रमेश कुमार श्रेष्ठको हात रहेको भन्दै सोही व्यक्तिबाट उक्त रकम उठाउनु भनेर तत्कालिन सेञ्चुरी बैंकलाई राष्ट्र बैंकले लिखितरुपमा निर्देशन दिईसकेको थियो । तर पनि हाल सम्म उक्त रकम तत्कालिन सेन्चुरी बैंक अर्थात् हालको प्रभु बैंकको खातामा आएको छैन ।