
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सुशासन, भ्रष्टाचार अन्त्य र जनताको जीवनस्तर फेर्न आफू कठोर बन्ने दाबी गर्दै आएका छन् । तर, सत्ताको अंकगणितमा खेल्दै आएका प्रचण्डमाथि अनेक प्रश्न उठ्न थालेका छन् । संसदीय शक्तिलाई च्याप्दै कमजोरलाई न्याक्ने दाउमा रहेका प्रचण्डले देखाउन खोजेको विषय के हो त ?
प्रधानमन्त्री प्रचण्ड तेश्रो कार्यकालका रुपमा प्रधानमन्त्रीमा आसिन छन् । तेश्रो कार्यकालमै तेस्रो पटक विश्वासको मत लिएका प्रचण्ड अहिलेको सत्ता समीकरणमा धुरन्धर खेलाडी नै भएर निस्किएका छन् । यस्तोमा प्रचण्डले मंगलबारको संसद बैठकमा सांसदको प्रश्नोत्तर कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पक्षमा वकालत गर्दै गर्दा उनले निष्पक्षताको विषय पनि उठाए । अनुसन्धानमा निष्पक्षता हुने आधार पेश गर्नका लागि नै प्रचण्डले आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको पक्राउ प्रकरणलाई संकेत गरे ।
प्रचण्डले संसद बैठकमै यस्तो जिकिर गर्दा माओवादी पदाधिकारी बैठकको माहोल भने फरक देखियो । माओवादीको पदाधिकारी बैठकमा प्रचण्डले महराबारे लामो ब्रिफिङ नै गरेको बताइन्छ । यसमा महराले फोन सम्पर्कबाहेक कुनै गल्ति नगरेको भन्दै न्यायिक प्रक्रियाबाटै बाहिर आउने जिकिर गरेका थिए । त्यसपछि महराबारे माओवादी केन्द्रको पदाधिकारी बैठक अनिर्णित बन्यो । महरासँग सल्लाह गरेर निर्णय लिने माओवादी केन्द्रको तयारी छ ।
माओवादी पदाधिकारी बैठकमा महराको स्वास्थ्य अवस्थादेखि उनीमाथि राज्यले दमन गरेको विषय समेत उठेको बताइन्छ । महरा रोल्पा जाने भन्दै निस्किएपनि प्रहरी प्रशासनले उनीमाथि धरपकड मात्रै गरेन, भारत भाग्न लागेको भन्दै गलत सूचना समेत प्रवाह गरिदियो । यसको विषयमा समेत प्रचण्डमाथि प्रश्न गरिएको र उनले आल्टाले जवाफ दिएको बताइन्छ । अझं, प्रचण्डले न्यायिक प्रक्रियाबाटै महरा छिट्टै बाहिर आउने बताएको दाबी छ ।
सत्ताको मिलापमा प्रचण्डको छलाङ
प्रधानमन्त्री प्रचण्डले केहि समय पहिले मात्रै आफूमाथि धोका हुने र प्रतिक्रियावादीले दाँया बाँया गर्न खोजे लात्तिले हानेर निस्कि हाल्ने भन्दै उत्तेजक अभिव्यक्ति नै दिएका थिए ।
प्रचण्डले सत्ताको अंकगणितलाई केन्द्रमा राख्दै व्यवहार प्रदर्शन गर्दै आएका छन् । संसदमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग्ने विषयमा जोडबल गरेपनि उनी खरो बचाउमा उत्रिएका छन् । रविमाथि कुनै कैफियत नदेखिएको प्रष्टीकरण दिइरहेका छन् । तर, उनै प्रचण्डले पार्टी बैठकमा महरालाई क्लिन चिट दिएपनि संसदमा देख्यौ भन्दै उनको नामलाई सुशासनसँग जोडिरहेका छन् । सत्ताको अंकगणित जटिल रहेको बेला उनले सत्ता जोगाउन यस्तो गर्नु कति जायज ? प्रश्न भने माओवादी केन्द्रभित्रै उठ्न थालेको छ ।