News 24 Television
पोखरा अब 'पर्यटकीय राजधानी', अझ सुन्दर र समुन्नत बनाइने
RK_Pokhara-0O7A9588~3

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् ।

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

साे समाराेहमा बाेल्दै उनले पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरका रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताए । “व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गर्दछु”, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्ने बताए ।

उनले गण्डकी प्रदेशको विकासमा दुरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माणलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताए ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update