News 24 Television
कांग्रेसको ‘ग्राण्ड डिजाइन’ फेल, के बन्दैछ नयाँ योजना ?
Congress_Asafal-1
  • सुजन चालिसे

काठमाडौँ । फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडे अनि एमालेसँगको सत्ता यात्रा तय गरे । त्यसपछि ८ मन्त्रालयको नेतृत्व सम्हालेको कांग्रेस सत्ताबाट बाहिरिनु प¥यो । त्यसपछि वेचैन देखिन्छ कांग्रेस । अन्य नेता जसरी नै प्रत्यक्षरुपमा त्यतिसारो चलायमान नहुने कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं यस पटक प्रचण्डसँग बदला लिनका लागि कसरतमा उत्रिए । तर, विश्वासको मतमै प्रधानमन्त्रीलाई फेल बनाउने कांग्रेसको खेल असफल बन्यो । संसदको पहिलो दल नेपाली कांग्रेस अब पनि सत्तारोहणको प्रयासमा निरन्तर लाग्छ वा प्रतिपक्षीको भूमिकामा खुम्चिएर बस्छ त ?

फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता सहयात्रा तोडेसँगै कांग्रेसमा वेचैनी छ र उसले सत्ता प्राप्तिका विभिन्न प्रयास गर्दै आएको छ । प्रचण्डलाई धोकेबाजको संज्ञा दिएको कांग्रेसले यस पटक प्रचण्डले लिने विश्वासको मतमा केही झेल गर्न सकिन्छ कि भनि कोशिस पनि गर्यो तर, त्यो प्रयास काम लागेन । बुधबार प्रचण्डले यस कार्यकालमै तेस्रो पटक विश्वासको मत लिए । दुई हप्ता अघिसम्म सत्ता राजनीतिमा सफलता नै सफलताको बाटोमा रहेको नेपाली कांग्रेसलाई पछिल्ला दुई दिनमा दुई ठुला असफलता वेहोर्नु पर्यो ।

मंगबार राष्ट्रियसभा अध्यक्षको पदमा कांग्रेसले गठबन्धनका उम्मेदवारसँग हार वेहोर्यो । यति मात्रै होइन अहिले त वर्तमान बाम गठबन्धनको माहोलमा लोकतान्त्रिक शक्तीहरुको समानान्तर गठबन्धन निर्माण गर्ने कांग्रेसको चाहनामा पनि धक्का लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरु एक ठाउँ हुने भन्दै लोसपा, जनमतसँग छलफल गरेका थिए । यसमा नागरिक उन्मुक्तिलाई समेत समावेश गर्ने प्रयास गरेका थिए । तर, कांग्रेसले साथ लिन खोजेको नागरिक उन्मुक्ति पार्टीले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । यसले कांग्रेस थप खिन्न देखिन्छ ।

https://youtu.be/22mDd0JNbkM

हाल सत्ताप्राप्तिमा फेल भएपनि कांग्रेसलाई भने यसले एक ढिक्का बनाएको देखिन्छ । सभापतिको आलोचनामा उत्रिने नेताहरु अहिले शान्त देखिएका छन् । बरु सम्भावित मुभबारे सभापतिलाई सुझाव दिइरहेका छन् । पार्टीको बचाउ गर्दै प्रधानमन्त्रीको आलोचनामा उत्रिएका छन् ।

फागुन २१ मा प्रधानमन्त्रीले सत्ता गठबन्धनबाट कांग्रेसलाई आउट गराए पछिका दिनहरुमा कांग्रेस निकै चलायमान देखिएको थियो । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउने प्रयास देखि रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । हाल परिस्थिति कांग्रेसको पक्षमा नदेखिएपनि सत्ताप्राप्तिका लागि उसले निरन्तर प्रयास गरिरहने विश्लेषकहरु बताउँछन् ।

बुधवारको विश्वासको मतपछि अब कांग्रेससँग प्रतिपक्षी बेन्चमा राप्रपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा छन् । अब सत्तारोहणको प्रयासमा नेपाली कांग्रेस अगाडी बढ्छ अथवा नेताहरुले दावी गरेजस्तो शान्त भएर प्रतिपक्षीकै भूमिकामा कांग्रेस रहन्छ ? त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update